काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पाँच खेल खेल्दै तीन जित र दुई हारसहित ६ अङ्क जोडेको छ । अङ्कतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिमका लागि आजको खेल प्लेअफ यात्रालाई थप सहज बनाउने अवसरका रूपमा रहेको छ ।
यता जनकपुर बोल्ट्सले पनि पाँच खेल खेलिसकेको छ । दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको जनकपुर चार अङ्कसहित अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।
प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न जनकपुरलाई आजको खेलमा जित आवश्यक छ । त्यसैले दुवै टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।
प्लेअफको दौडलाई ध्यानमा राख्दै मैदान उत्रने दुवै टोलीका लागि आजको नतिजा महत्त्वपूर्ण रहनेछ ।




