नेपाल संवत् ११४७ आजदेखि सुरु, नेवार समुदायले म्हः पूजा गर्दै

 

काठमाडौं । नेवार समुदायको नयाँ वर्षका रूपमा मनाइने नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ वर्षको सुरुवातसँगै नेवार समुदायले आफ्नो मौलिक परम्पराअनुसार म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमा सांस्कृतिक र धार्मिक कार्यक्रम आयोजना गरिँदैछन् । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे तथा दोलखाको भीमेश्वर क्षेत्रमा विशेष रूपमा यो पर्व मनाउने परम्परा छ ।

नेपाल संवत्को सुरुवात राष्ट्रिय विभूति शङ्खधर साख्वासँग जोडिएको छ । इतिहासअनुसार उनले विसं ९३७ अर्थात् इसं ८८० मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् चलनमा ल्याएका थिए । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म नेपालको राष्ट्रिय संवत्का रूपमा प्रचलनमा रहेको थियो ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेको तथा नेपालको मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै विभिन्न अभियान सञ्चालन हुँदै आएको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

यस संवत्सँगै नेवार समुदायमा नयाँ वर्षको सुरुवातमा पुरानो बहीखाता बन्द गरी नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि रहिआएको छ ।

म्हः पूजाको विशेष महत्त्व

नेपाल संवत्को नयाँ वर्षका अवसरमा गरिने म्हः पूजा नेवार समुदायको विशिष्ट सांस्कृतिक तथा धार्मिक परम्परा हो । म्हः पूजामा मानिसले आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने गर्दछन् ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा महत्त्वपूर्ण भएकाले त्यसलाई सन्तुष्ट र प्रसन्न राख्ने उद्देश्यले म्हः पूजा गर्ने परम्परा बसेको हो । आत्मा प्रसन्न भए देवीदेवताको आशीर्वाद प्राप्त हुने र मानव जीवन सार्थक बन्ने धार्मिक विश्वास रहेको छ ।

यस वर्ष प्रतिपदा तिथि दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थान तथा समुदायबीच भिन्नता देखिएको छ । कतिपय स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने केही नेवार समुदायले आज म्हः पूजा गर्दैछन् ।

नेपाल संवत् केवल नयाँ वर्षको सुरुवात मात्र नभई नेपालको मौलिक इतिहास, संस्कृति, पहिचान र सामाजिक सद्भावसँग जोडिएको पर्वका रूपमा स्थापित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्