आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

काठमाडौँ, कात्तिक २२ गते । तिहारको दोस्रो दिन आज आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। तिथिको घटबढका कारण दिउँसो चतुर्दशी र साँझ औँसी तिथि पर्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा दुवै पर्व एकै दिन मनाउने निर्णय गरेको हो।

आज बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ भने साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली मनाइँदै छ।

हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई सामान्य पशुका रूपमा मात्र नभई यमराजको दूत र भगवान् भैरवको वाहनका रूपमा समेत पूजा गरिन्छ। पौराणिक कथाअनुसार यमलोकको ढोकामा चार आँखा भएका ‘श्यामा’ र ‘सबल’ नामका दुई कुकुरले पहरा दिइरहेका हुन्छन्। उनीहरूले मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्ने धार्मिक विश्वास छ। कुकुरलाई प्रसन्न राख्दा यमलोकको यात्रामा दुःख भोग्न नपर्ने र मृत्युको भयबाट मुक्ति मिल्ने मान्यताका आधारमा कुकुरतिहार मनाउने गरिएको हो।

महाभारतको कथामा पनि कुकुरको वफादारिताको प्रसङ्ग उल्लेख छ। पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ जाँदा बाटोमा एकपछि अर्को गर्दै सबै ढल्छन्। अन्तिममा धर्मराज युधिष्ठिर र उनीसँगै हिँडेको एउटा कुकुर मात्र बाँकी रहन्छन्। स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्ग प्रवेश गर्न अनुमति दिँदै कुकुरलाई छोड्न आग्रह गर्छन्। तर युधिष्ठिरले आफ्नो साथ नछोडेको कुकुरलाई त्यागेर स्वर्ग प्रवेश गर्न अस्वीकार गर्छन्। उनको धर्म र वफादारिता देखेर कुकुरले वास्तविक स्वरूप देखाउँछ, जो स्वयं धर्मराज अर्थात् यमराज हुन्छन्।

तिहारको अर्को महत्वपूर्ण पर्व लक्ष्मीपूजा पनि आज साँझ मनाइँदै छ। कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ। पौराणिक मान्यताअनुसार देवता र असुरले अमृत प्राप्तिका लागि क्षीरसागर मन्थन गर्दा कात्तिक कृष्ण औँसीकै दिन देवी महालक्ष्मी प्रकट हुनुभएको थियो। लक्ष्मीको आगमनको खुसीयालीमा देवताहरूले दीप प्रज्वलन गरी स्वागत र पूजाआजा गरेको विश्वास छ। यही परम्पराअनुसार प्रत्येक वर्ष औँसीको रात घरघरमा दीपावली गरी लक्ष्मीपूजा गर्ने चलन रहेको छ।

अर्को पौराणिक कथाअनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिसँग तीन पाइला भूमि माग्नुभएको थियो। त्यस क्रममा बलिलाई पाताल लोक पठाइए पनि उनको दानशीलताबाट प्रसन्न भएर विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभएको थियो। सोही समयमा देवी लक्ष्मीले राजा बलिलाई भाइ बनाई उनको हातमा रक्षासूत्र बाँध्नुभएको र त्यसको बदलामा बलिको पहरामा रहेका आफ्ना पति भगवान् विष्णुलाई मुक्त गराउनुभएको धार्मिक कथन छ। राजा बलिको राज्यमा लक्ष्मीको आशीर्वादले धनधान्यको अभाव नहुने वरदान प्राप्त भएको खुसीयालीमा पनि दीपावली गर्ने परम्परा रहेको मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा मनाइनेछ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।

तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार अर्थात् भाइटीका परेको छ। उक्त दिन भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्