प्रहरी र नागरिकबीचको सम्बन्ध सङ्गठनको महत्त्वपूर्ण पूँजी भएको उल्लेख गर्दै उहाँले नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून् र प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,’ उहाँले भन्नुभयो ।
आईजीपी केसीले प्रहरी कर्मचारीका गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा पनि गर्नुभएको छ । सीमित स्रोतसाधन, भवन अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको प्रतिबद्धता छ । प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तताका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । साथै, प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।




