दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ। पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।
अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित यस वर्ष १० हजार पर्यटक भित्र्याउने योजना रहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो। उहाँका अनुसार उत्सवलाई प्रदेशस्तरीय बृहत् कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ।
उत्सवको पहिलो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति र साहित्यिक गोष्ठी आयोजना हुनेछ। दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। उत्सवको मुख्य आकर्षणका रूपमा अपि हिमाल आधार शिविरमै क्रिकेट खेल आयोजना गरिने अध्यक्ष बोहराले बताउनुभयो। उच्च हिमाली क्षेत्रमा खेलकुद र पर्यटन प्रवर्द्धन गर्न यसले योगदान पुर्याउने उहाँको विश्वास छ।
उत्सवमा सहभागी हुन सुदूरपश्चिमका ८८ वटै स्थानीय तह, नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समिति तथा दार्चुला शाखा, संघीय मन्त्री, सांसद, प्रदेश मन्त्री र प्रदेशसभा सदस्यहरूलाई निमन्त्रणा गरिने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने तयारीसमेत गरिएको छ।
उत्सवका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विशेष अतिथिबाहेक अन्य अतिथिहरू अपि हिमाल आधार शिविरसम्म आफ्नै खर्चमा पुग्नुपर्ने जनाइएको छ।




