दार्चुलाको महेन्द्र नमुना माविसहित सुदूरपश्चिमका ६ विद्यालय पूर्वाधार विकासका लागि छनोट

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशका छवटा विद्यालय छनोट गरेको छ। छनोटमा कञ्चनपुर, कैलाली, दार्चुला र बाजुरा जिल्लाका विद्यालय समेटिएका छन्।

मन्त्रालयको योजनाअन्तर्गत छनोट भएका विद्यालयमा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर माध्यमिक विद्यालय, कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिनगर माध्यमिक विद्यालय, गोदावरी नगरपालिकास्थित दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय र टीकापुर नगरपालिकास्थित कर्णाली माध्यमिक विद्यालय रहेका छन्।

त्यस्तै, दार्चुलाको महाकाली नगरपालिकास्थित महेन्द्र नमुना माध्यमिक विद्यालय र बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका माध्यमिक विद्यालय पनि छनोट भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि कुल ६ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। पहिलो चरणमा ८९ वटा विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपियाँ निकासा गरिएको छ।

योजनाअन्तर्गत छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपियाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशका विद्यालयमा पूर्वाधार विस्तार भएपछि विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण निर्माण हुनुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्