काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित बुढानीलकण्ठ स्कुलमा ११औँ बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। स्थानीय फुटबल प्रतिभाको पहिचान, खेलकुदको प्रवर्द्धन तथा युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन नगरपालिकाका उपप्रमुख अनिता लामाले गर्नुभएको हो।
स्थानीयस्तरमा फुटबल खेलको विकास गर्दै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ। नगरकपले नयाँ खेल प्रतिभाको पहिचान गर्नुका साथै नगरभित्र फुटबलको लोकप्रियता बढाउन र खेलाडीको क्षमता अभिवृद्धि गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन लामा, वडा नं. ६ का वडाध्यक्ष रवि खड्का, वडा नं. ५ का वडाध्यक्ष कृष्ण शाह ठकुरीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले खेलाडीबीच अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउँदै दक्ष खेलाडी उत्पादन र उनीहरूको प्रतिभा निखार्न नगरकपले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




