काठमाडौं – वडा दसैँ २०८३ को अवसरमा अर्किड स्कुलले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच शुभकामना आदानप्रदान गर्दै टीका र जमरा लगाएर दसैँ मनाएको छ। काठमाडौँको कागेश्वरी मनोहरा-९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक वर्ष झै यस वर्षपनि विद्यालय परिवारबीच आपसी सद्भाव, आत्मीयता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
दसैँको मुख्य दिन विद्यालयमा बिदा हुने र शिक्षक तथा कर्मचारी आ-आफ्नो घर जाने भएकाले दसैँ सुरु भएको दोस्रो दिन नै टीका र जमरा लगाउने तथा शुभकामना साटासाट गर्ने कार्यक्रम राखिएको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले बताउनुभयो। चाडपर्वले एकअर्काबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव र एकताको भावना विकास गर्न सहयोग पुर्याउँउने उहाँको विश्वास छ ।
विद्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले शिक्षक तथा कर्मचारीलाई टीका र जमरा लगाइदिनुभएको थियो। कार्यक्रममा संस्थापक भुजेल र प्रिन्सिपल कार्कीले एकअर्कालाई टीका तथा जमरा लगाएर दसैँको शुभकामना आदानप्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागी शिक्षक तथा कर्मचारीले पनि एकअर्कालाई शुभकामना व्यक्त गर्दै खुसी साटासाट गरेका थिए।

विद्यालय केवल औपचारिक शिक्षा प्रदान गर्ने संस्था मात्र नभई आपसी सहकार्य, सद्भाव र सामूहिक भावनाको विकास गर्ने साझा थलोसमेत हो। यस्ता कार्यक्रमले शिक्षक तथा कर्मचारीबीच आत्मीयता बढाउनुका साथै विद्यालयमा सकारात्मक र सौहार्दपूर्ण वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। यस पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने सन्देश दिन्छ। यही सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै अर्किड स्कुलले विद्यालय परिवारबीच दसैँको खुसी साटासाट गरेको हो।




