काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा रहेको इमानि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाडौँको मध्यवानेश्वरमा संस्थाका अध्यक्ष किशोर कुमार गौतमको अध्यक्षता तथा बागमती प्रदेश प्रोस्कुनका अध्यक्ष उद्वव सापकोटाको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभा विभिन्न प्रतिवेदन पारित गर्दै आगामी योजना प्रस्तुत गर्दै सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा शेयर पुँजी, निक्षेप, कर्जा लगानी तथा कुल सम्पत्तिमा वृद्धि गरेको छ । यद्यपि, सञ्चालन खर्चमा भएको वृद्धि र जोखिम व्यवस्थापनको आवश्यकताका कारण संस्थाको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अध्यक्ष गौतमले प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख उपलब्धी तथा चुनौती, भावी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यसैगरी
संस्थाको १६औँ वार्षिक साधारणसभामा सचिव दिपक कुमार सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको शेयर पुँजी २ करोड ४० लाख १४ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा शेयर पुँजी २ करोड ३३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो । यसअनुसार एक वर्षमा शेयर पुँजी ७ लाख ७ हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

त्यसैगरी, संस्थाको कुल निक्षेप १३ करोड ८२ लाख ३१ हजार ६६४ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा निक्षेप १३ करोड ५७ लाख २४ हजार ३९९ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यसअनुसार निक्षेपमा करिब ५ लाख १५ हजार रुपैयाँ वृद्धि भएको देखिन्छ । यसैगरी सहकारीको साधारण जगेडा गत बर्षा ३३ लाख ६९ हजार ७१५ रहेकोमा यस बर्ष ४९ लाख ९३ हजार २ सय ३५ रहेको छ जुन १६ लाख २३ हजार ५ सय २० ले बढी हो । यसैगरी सम्भावित ऋण जोखि कोष गत बर्षा १ करोड २५ लाख ७ हजार २ सय ४८ रहेकोमा यस बर्ष १ करोड ४३ लाख ७ हजार २ सय ४८ रहेको छ जुन जोखिम कोष १८ लाखले बढी हो । यसैगरी संस्थाको कुल सम्पती गत वर्ष १८ करोड १ लाख ६३ हजार ३९३ रहेकोमा यस बर्ष १८ करोड ५२ लाख ७३ हजार ६४८ रहेको छ ।
सहकारीले सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास गर्दै बचत परिचालनलाई आगामी दिनमा पनि प्राथमिकता दिने जनाएको छ । यसैगरी कोषाध्यक्षको प्रतिवेदन रुपक भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा तथा सुरपरीवेक्षण समिति संयोजक दीपा खड्काले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार हरि बहादुर गौतमले संस्थाले विषम परिस्थितिमा पनि सहकारीले आफ्नो यात्रा जारी राखेकोप्रति संस्थाको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ बचतकर्ता तथा एसईई सम्मान जस्ता सामाजिक कार्यमा सहकारीले देखाएको भूमिका सम्झन लायक भएको समेत बताउनुभयो ।

कर्जा लगानी १२ करोड ८१ लाख रुपैयाँभन्दा बढी
संस्थाले सदस्यहरूको आर्थिक आवश्यकता तथा व्यावसायिक गतिविधिलाई ध्यानमा राख्दै कर्जा प्रवाह गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कर्जा लगानी १२ करोड ८१ लाख ७१ हजार ५२२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कर्जा लगानी ११ करोड ९६ लाख ३४ हजार ५१५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसरी एक वर्षमा कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ । संस्थाले आर्थिक वर्षमा १२९ जना सदस्यलाई कर्जा लगानी गरेको जनाएको छ । कर्जा प्रवाह गर्दा सदस्यको आवश्यकता, आर्थिक क्षमता, धितो तथा कर्जा सुरक्षणलाई आधार बनाइएको प्रतिवेदनमा उल्लेख छ ।
कर्जा लगानीलाई सुरक्षित र प्रभावकारी बनाउन खराब कर्जा न्यूनीकरण, नियमित अनुगमन, ताकेता तथा आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरिने संस्थाले जनाएको छ । पुराना तथा असुल हुन नसकेका कर्जाको कानुनी प्रक्रियामार्फत असुली बढाउने नीति पनि संस्थाले अघि सारेको छ ।
कुल सम्पत्ति १८ करोड ५२ लाख रुपैयाँभन्दा बढी
संस्थाको कुल सम्पत्ति आर्थिक वर्ष २०८२/०८३ मा १८ करोड ५२ लाख ७३ हजार ६४८ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल सम्पत्ति १८ करोड १ लाख ६३ हजार ३९३ रुपैयाँ रहेको थियो । यसअनुसार कुल सम्पत्तिमा ५१ लाख रुपैयाँभन्दा बढी वृद्धि भएको छ ।
त्यस्तै, सम्भावित ऋण जोखिम कोषमा पनि वृद्धि भएको छ । प्रतिवेदनअनुसार उक्त कोष अघिल्लो वर्षको १ करोड २५ लाख ७ हजार २४८ रुपैयाँबाट बढेर १ करोड ४३ लाख ७ हजार २४८ रुपैयाँ पुगेको छ । साधारण जगेडा कोष पनि ३३ लाख ६९ हजार ७१५ रुपैयाँबाट बढेर ४९ लाख ९३ हजार २३५ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
संस्थाले वित्तीय अनुशासन कायम राख्दै ऋण जोखिम व्यवस्थापन तथा संस्थाको दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिएको जनाएको छ ।

आम्दानी बढे पनि खुद नाफा घट्यो
आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको आम्दानी २ करोड ९ लाख १२ हजार ३०५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष आम्दानी २ करोड ८ लाख ४८ हजार ६०१ रुपैयाँ थियो । यसअनुसार आम्दानीमा सामान्य वृद्धि भएको छ । तर, संस्थाको खर्च भने अघिल्लो वर्षको १ करोड ६३ लाख ४९ हजार ७०० रुपैयाँबाट बढेर १ करोड ६९ लाख ९ हजार ७०७ रुपैयाँ पुगेको छ । खर्चमा भएको वृद्धिसँगै खुद नाफा घटेको देखिन्छ ।
प्रतिवेदनअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको २५ लाख १३ हजार २४३ रुपैयाँबाट घटेर आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ६१ हजार ७४७ रुपैयाँ कायम भएको छ । यसरी खुद नाफामा करिब २२ लाख ५१ हजार ४९६ रुपैयाँले कमी आएको छ । संस्थाले आर्थिक चुनौती, सञ्चालन खर्चमा भएको वृद्धि तथा जोखिम व्यवस्थापनका लागि गरिएका व्यवस्थाका कारण नाफामा कमी आएको जनाएको छ । वित्तीय अनुशासन कायम राख्दै संस्थाको दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिइएको प्रतिवेदनमा उल्लेख छ ।
पाँच वर्षमा सदस्य संख्या ६२४ बाट बढेर १ हजार ५ पुग्यो
इमानि सहकारीमा सदस्य संख्या निरन्तर बढ्दै गएको छ । संस्थाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६२४ जना सदस्य रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा ७५१ जना, २०८०/०८१ मा ८५१ जना र २०८१/०८२ मा ९०७ जना पुगेका थिए । आर्थिक वर्ष २०८२/०८३ मा भने सदस्य संख्या १ हजार ५ पुगेको छ ।
हाल संस्थामा ३५७ जना महिला र ६४८ जना पुरुष सदस्य आबद्ध छन् । सदस्य संख्यामा भएको निरन्तर वृद्धिलाई संस्थाप्रतिको विश्वास र आकर्षणको आधारका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने उद्देश्यले बचत, कर्जा तथा अन्य वित्तीय सेवाहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा सदस्य संख्या थप वृद्धि गर्ने, नियमित बचतलाई प्रोत्साहन गर्ने र सदस्यकेन्द्रित सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

सहकारी क्षेत्रप्रतिको घट्दो विश्वास प्रमुख चुनौती
प्रतिवेदनमा सहकारी क्षेत्रले पछिल्लो समय विभिन्न चुनौती सामना गरिरहेको उल्लेख छ । आर्थिक मन्दीको असर, मूल्यवृद्धि, सहकारी क्षेत्रप्रतिको घट्दो विश्वास, कर्जा असुलीमा देखिएका कठिनाइ, सञ्चालन खर्चमा वृद्धि तथा सहकारीसम्बन्धी ऐन–नियममा भइरहने परिवर्तनलाई संस्थाका प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ ।
त्यसैगरी, संस्थाले पर्याप्त मात्रामा सहकारी शिक्षा दिन नसक्नु, कार्यक्षेत्रभित्र दोहोरो सदस्यता हुनु र सहकारी संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु पनि चुनौतीका रूपमा उल्लेख गरेको छ । यस्ता चुनौतीका बाबजुद संस्थाले आफ्नो कारोबारलाई निरन्तरता दिँदै बचत तथा निक्षेप परिचालन, कर्जा प्रवाह र सदस्य सेवामा जोड दिएको जनाएको छ । आर्थिक कठिनाइका बीच पनि सहकारीको वित्तीय अवस्था सन्तुलित राख्न र सदस्यको विश्वास कायम गर्न आवश्यक रणनीति अवलम्बन गरिने प्रतिवेदनमा उल्लेख छ ।
डिजिटल सेवा विस्तारदेखि कार्यक्षेत्र विस्तारसम्मको योजना
संस्थाले आगामी आर्थिक वर्षमा वित्तीय कारोबारलाई थप प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ । सदस्य सेवाका लागि एसएमएस सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिने जनाएको छ । त्यसैगरी, सहकारी ऐन, नियमावली, संस्थाको विनियम तथा प्रचलित कानुनअनुसार नीति र कार्यविधि परिमार्जन गर्ने, संस्थाको दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन रणनीतिक योजना निर्माण गर्ने र कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
संस्थाले काठमाडौं महानगरपालिकाभरि कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव अघि बढाउने, आवश्यकताअनुसार घरजग्गा खरिद तथा भौतिक पूर्वाधार विकास गर्ने र लगानी विविधीकरण गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसका साथै, उत्पादनशील तथा आयमूलक क्षेत्रमा कर्जा लगानी बढाउने, कर्जा असुली प्रभावकारी बनाउने, कर्जा सुरक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने र सदस्य तथा समुदायको हितमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

उत्कृष्ट बचतकर्ता, ऋणी र विद्यार्थी सम्मानित
संस्थाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारणसभाका लागि प्रस्तुत विवरणमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत समेटेको छ । उत्कृष्ट बचतकर्ताका रूपमा रिता कुमारी अधिकारी, उत्कृष्ट ऋणीका रूपमा देवीमाया श्रेष्ठ र उत्कृष्ट कर्मचारीका रूपमा तारा रेग्मी ढुंगानालाई उल्लेख गरिएको छ ।
त्यसैगरी, शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू प्रज्वल प्रजापती, संस्कृति रेग्मी, अनुराग कार्की, निर्जल चौलागाईं, आयुषा घिमिरे, सनिश अधिकारी, सुमित चौलागाईं र निरोज सापकोटालाई उत्कृष्ट शैक्षिक सम्मानका लागि छनोट गरिएको विवरणमा उल्लेख छ ।
ज्येष्ठ नागरिक सम्मानतर्फ पुरन रिसाल र दुर्गादेवी पोखरेललाई सम्मान गर्ने उल्लेख गरिएको छ । संस्थाले सदस्य तथा उनीहरूका परिवारका सदस्यको प्रोत्साहन र सम्मानलाई संस्थागत सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा लिएको छ ।

१६ वर्षे यात्रामा दिगो विकासको लक्ष्य
२०६७ सालमा स्थापना भएको इमानि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औँ वार्षिक साधारणसभासम्म आइपुग्दा सदस्य संख्या, निक्षेप, कर्जा लगानी तथा कुल सम्पत्तिमा वृद्धि गरेको छ । काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वरमा कार्यालय रहेको संस्थाले सदस्यहरूको सानो पुँजी संकलन गरी सामूहिक प्रयासबाट आर्थिक तथा सामाजिक स्तर उकास्ने उद्देश्य राखेको जनाएको छ ।
संस्थाको सचिवको प्रतिवेदनमा आर्थिक वर्ष २०८२/०८३ का उपलब्धि, चुनौती तथा आगामी योजनाहरू प्रस्तुत गर्दै संस्थाको प्रगति र दिगो विकासका लागि सदस्यहरूको विश्वास, सहभागिता र सहयोगलाई मुख्य आधारका रूपमा उल्लेख गरिएको छ । संस्थाले आगामी दिनमा बचत, निक्षेप, शेयर पुँजी तथा सदस्य संख्या वृद्धि गर्दै कर्जा जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, प्रविधिमैत्री सेवा र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।








