अपिहिमालमै भूमि प्रशासन र नापी सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै

दार्चुला – दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित अपिहिमाल गाउँपालिकाले स्थानीय तहमै भूमि प्रशासन तथा नापी सेवा सुरु गरेको छ। गाउँपालिकाले बिहीबारदेखि औपचारिक रूपमा दुवै सेवा सञ्चालनमा ल्याएपछि जग्गा तथा भूमि प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउने लक्ष्यका साथ सेवा सुरु गरिएको बताए। उनका अनुसार दार्चुला जिल्लामै स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन गर्ने अपिहिमाल पहिलो गाउँपालिका बनेको छ। सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकापछि यस्तो सेवा सञ्चालन गर्ने दोस्रो स्थानीय सरकारका रूपमा अपिहिमाल रहेको उनको दाबी छ।

सेवा शुभारम्भकै दिन गाउँपालिका–५ का जगत धामी पहिलो सेवाग्राही बने। उनका पिता कालो धामीले छोरा जगतका नाममा वकसपत्र गरी लिखत पारित गराएका थिए। यससँगै गाउँपालिकाबाट भूमि प्रशासन सेवाको औपचारिक सुरुवात भएको हो।

अध्यक्ष बोहराका अनुसार गाउँपालिकाले पर्यटन, पूर्वाधार, सुशासन, आर्थिक विकास, जीविकोपार्जन, खानेपानी, सरसफाइ, शिक्षा तथा स्वास्थ्य सेवासँगै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। केही दिनअघि मात्रै करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय डडेल्धुरासँग सम्झौता गरिएको र उक्त सेवा पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

स्थानीय तहमै भूमि प्रशासन तथा नापी सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, श्रम र यातायात खर्च बचत हुने विश्वास गरिएको छ। सामान्य सरकारी कामका लागि समेत लामो दूरी पार गर्नुपर्ने दुर्गम क्षेत्रका बासिन्दालाई यसले प्रत्यक्ष राहत पुर्‍याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले स्थानीय सरकारबाटै आवश्यक सेवा विस्तार गर्दै ‘सुन्दर, समृद्ध र विकसित अपिहिमाल’ निर्माण गर्ने लक्ष्यलाई अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्