रामदत्त मिश्र, काठमाडौँ – पश्चिमि संस्कृति, परम्परा, आस्था अनि विश्वास साथै त्यहाँको परिवेशसहितको नाटक मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ भनेपछि म पनि हेर्न जाउँ भन्दै हुइँकिए । मलाई यो बारे हेर्नुभन्दा पहिला केहि थाहा थिएन् । नत पात्रै नै चिनेको थिए नत सारंशमा भएपनि कथा नै थाहा थियो । केहि साथीहरुले रिल तथा टीकटकमा पोष्ट्याएको क्लिप देखेर हेर्न मन लगाेको थियो तर जुरेको थिएन् । एकजना साथीले हेर्न जाने भनेर खबर गरेपछि म पनि बेलुकीको ५ः२० बजे मण्डला परिसर पुगे । बक्स अफिसबाट टिकट लिए र जनाउ घण्टी बजेसँगै हल प्रवेश गरे । थापागाउँमा रहेको मण्डला थिएटरको मञ्चमा प्रवेश गरेपछि केही समयमै म त काठमाडौं होइन, सुदूरपश्चिम पुगेछु । सुदूरको पनि डडेल्धुरा त्यसमा पनि निङलाड पुगेछु । स्थानीय लवज, देउडाको भाका, गौरा फागका धुन र पात्रहरूको बोलीचालीले पक्कैपनि मलाई मात्रै होईन होला सबै दर्शकलाई त्यही भूगोलमा पुर्याएको हुनुपर्छ । यही आञ्चलिक परिवेशभित्र एउटा युवतीको पर्खाइ, प्रेम, परिवार, वैदेशिक रोजगारीले निम्त्याएको विछोड र अन्ततः आफ्नै अस्तित्वको खोजीको बगिरहेको कथा ‘श्री बिज्जो भूत’ अगाडी बढ्दै गयो ……….
श्री बिज्जो भूतको अर्को उल्लेखनीय पक्ष यसको प्रस्तुति शैली हो । विषयवस्तु गम्भीर छ र अहिलेको लागि काल्पनिक जस्तै भएपनि पहिलाको समयको लागि वास्तविक नै हो । प्रतीक्षा, अभाव, छल, प्रेम, वैदेशिक रोजगारी र नारी अस्तित्वजस्ता विषयले नाटकलाई स्वाभाविक रूपमा गम्भीर बनाउँछन् । तर निर्देशक आकाश नेपाली र बुद्धि तामाङले यसलाई लगातार गम्भीर मात्र बनाएर राखेका छैनन् । सुदूरपश्चिमको स्थानीय लवज र आञ्चलिक हास्यलाई कथामा स्वाभाविक रूपमा मिसाइएको छ । सरकारी जागिरको अहंकार देखाउने टेके र काकीबीचको नोकझोक, जडीबुटी तथा सिलाजीत बेच्ने भगतसिंह धानीको रमाइलो बोलीचाली तथा यात्राका क्रममा देखिने हास्यप्रद प्रसङ्गहरूले सबैलाई हसाईरह्यो ।

यसले नाटकलाई एकोहोरो भावुक हुनबाट जोगायो नै भन्नुपर्छ किनकी एकातिर दर्शक हाँसिरहेका थिए त अर्कोतिर त्यही कथाले समाजको गम्भीर यथार्थमाथि प्रश्न गरिरहेको थियो । यही सन्तुलन नाटकको प्रस्तुतीगत उपलब्धिको रुपमा लिएको छु । बीचबीचमा आउने उदास लाग्ने अनि भावुक बनाउने हरिना नाथको घाँटीका तरंगहरु । कहिले ठाडी भाका त कहिले भावुकताका रसहरुले मनै छुन पुग्यो । संगीत र गीतले नाटकलाई थप उचाईमा पुर्याएको देखिन्छ । नाटकको सांस्कृतिक पक्ष निकै बलियो छ । स्थानीय भाषा, लवज, देउडा र गौरा फागका धुनले नाटकलाई काठमाडौंको रंगमञ्चमा प्रस्तुत गरिएको सुदूरपश्चिमको कथा मात्र बनाएका छैनन्, बरु सुदूरपश्चिमकै एउटा भूगोलको अनुभव गराउने प्रयास गरेका छन् ।
यताकता सुधिर शर्माको कृति भिक्षु, व्यापार र विद्रोह पढ्दा भोट जाने नेवाः समुदाय अर्थात नेपालीहरुको वास्तविकता उल्लेख गरे अनुसार कतै कतै मेल खायो कि भन्दा केहि बेरमै आउने त्यहाँका दृश्यहरुले कहाँ भोट पुगाउथ्यो र मलाई त मध्य सुदूर नै पुगाइदियो । सायद आफुपनि सुदूरपश्चिममै जन्मिएको र खेलेको भएर होला कता कता वास्तविक नै लाग्यो । प्रविधिको युग भन्दा पहिला अर्थात ५० औँ शताब्दीतिर फर्किदा कता कता भावुक पनि भए । मोबाइल फोनको जमनाभन्दा पहिला खबर पाउन कि कसैले भनेकै पत्याउनुपर्थ्यो कि त घर आएपछि नै थाहा हुन्थ्यो त्यो परिवेश मेरो बाल्यकालमा मैले पनि भोगेको यथार्थ नै हो । अब लागौँ अन्य यस्ता टुक्रेटुक्रे प्रशंग भन्दापनि श्री बिज्जो भूतको केहि सार अर्थात कथातिर ।

करिब ८० मिनेट लामो यो नाटकको कथा गौरीको दृष्टिकोणबाट अगाडि बढ्छ । गाउँको अभावमा हुर्किएकी गौरीको जीवनमा बुबाको अनुपस्थितिले गहिरो खालीपन सिर्जना गरेको छ । बीस वर्षदेखि बेपत्ता बुबाको बाटो हेर्दै आएकी गौरीको संसारमा वृद्ध हुँदै गएकी आमा र आफ्नो प्रेमी लाहुरे धिरु छन् । आमा घरधन्दामा व्यस्त छिन् भने गौरी गाउँको सामान्य जीवन जिउँदै बुबा फर्किने आशामा बाँचेकी छे । बनजंगल बाख्रा चराउनमै गौरीको दिन बित्छ । आमा घरायसीकाममै जीउज्यान बलिदान गर्ने बेलामा पुगेसकेकी हुन्छिन ।
यही अवस्थामा एक दिन भारतको बम्बईमा उसका बुबा भेटिएको खबर लिएर पूजा गर्ने भनेर आएको हरि नाम गरेको एक व्यक्ति गाउँ आइपुग्छ । बम्बईमा ड्राइभरको काम गर्ने हरिको कुरा गौरीका लागि आशाको नयाँ ढोका बन्छ । वर्षौंदेखि हराएको बुबालाई भेट्ने तीव्र इच्छाले उसलाई हरिसँगै बम्बई जाने निर्णयसम्म पुर्याउँछ । आमासँग सल्लाह नगरी गरेको यही निर्णयसँगै गौरीको जीवनले अप्रत्याशित मोड लिन्छ । बुबा साँच्चै बम्बईमा छन् कि छैनन् ? हरिले भनेको कुरा सत्य हो कि छल ? यो कुरा रहस्यमय नै हुन्छ । अझ उसका लागि जवान भइरहेकी गौरीको लागि भनेर हात माग्ने तथा विहेको चर्चा पनि चलिरहेकै हुन्छ । तर गौरी पाँच वर्षदेखि पल्टनमा रहेको प्रेमी धिरुको प्रतिक्षामा हुन्छिन ।

तर ‘श्री बिज्जो भूत’ केवल गौरीले बुबा भेट्छे कि भेट्दिन भन्ने कथामा सीमित हुँदैन । यसको वास्तविक कथा त गौरीले आफ्नो जीवन र अस्तित्वलाई कसरी बुझ्दै जान्छे भन्ने हो । नाटकको केन्द्रमा रहेको ‘बिज्जो भूत’ सुदूरपश्चिममा प्रचलित लोकविश्वास र सांस्कृतिक मिथकसँग जोडिएको छ । विशेषगरी डडेलधुराको निङलाड क्षेत्रमा प्रचलित यस विश्वासमा बिज्जो भूतलाई मानिसलाई हानि पुर्याउने डर लाग्दो भूतका रूपमा भन्दा सत्य, न्याय र संरक्षणसँग जोडिएको शक्तिका रूपमा लिइन्छ । यता कता डडेलधुरामा मात्रै होईन दार्चुलातिर पनि भूतलाई सत्यनारायणको पूजामा अन्तिममा होम गरी नाम जपेको सुनेको थिए । सबै देवीदेवतालाई सम्झेपछि अन्तिममा समापनको रुपमा नौगाडकी ढाडू अर्थात भूतलाई नै स्वाहा भन्दै नाम लिएको छ सुनेकै थिए । यसको मतलब सबै भूत हानि गर्ने हुदैनन् र केहि भूतहरुपनि पुज्न लायक नै हुन्छन भन्ने कथाले देखाउन खोजेको छ यो वास्तविक नै हो ।

जङ्गल वा यात्राका क्रममा बिज्जो भूतलाई सम्मान गर्ने, ढोग्ने तथा जप गर्दा सत्य तथा सदाचारको बाटोमा हिँड्ने मानिसको रक्षा हुने जनविश्वास छ । अर्कोतर्फ, कपट, असत्य वा खराब कर्म गर्नेहरूबाट बिज्जो भूतको क्षेत्रभित्र उम्कन नसकिने विश्वास पनि कथासँग जोडिएको छ । नाटकले यही लोकविश्वासलाई केवल डर वा रहस्य सिर्जना गर्ने साधनका रूपमा प्रयोग गरेको छैन । बरु मिथकलाई सामाजिक र मनोवैज्ञानिक कथाको प्रतीक बनाइएको छ । सत्य र असत्य, अपराध र निर्दोषता, विश्वास र छल तथा पुरुषसत्तात्मक सोच र स्त्रीको आत्मसम्मानबीचको द्वन्द्वमा ‘बिज्जो भूत’ एउटा सांस्कृतिक बिम्बका रूपमा उभिन्छ । यही कारण ‘श्री बिज्जो भूत’ लाई केवल आञ्चलिक लोककथामा आधारित नाटक भनेर सीमित गर्न मिल्दैन । यसले सुदूरपश्चिमको सांस्कृतिक परिवेशभित्र समकालीन नेपाली समाजका केही गम्भीर प्रश्नलाई प्रवेश गराएको छ ।

नाटकको सबैभन्दा बलियो पक्ष गौरीको चरित्र यात्रा हो । सुरुवातमा गौरी सरल, अबोध र भावुक युवतीका रूपमा देखिन्छे । बीस वर्षदेखि हराइरहेका बुबाप्रतिको उसको मोह यति बलियो छ कि बुबा भेटिएको खबर सुनाउने हरिको कुरामाथि उसले धेरै प्रश्न गर्दिन । उसको लागि त्यो खबर नै वर्षौंदेखिको प्रतीक्षाको अन्त्य हो । तर कथा अगाडि बढ्दै जाँदा यही विश्वासमाथि चोट पर्न थाल्छ ।
नाटकले सुदूरपश्चिमको सामाजिक यथार्थमा गहिरो जरा गाडेको वैदेशिक रोजगारीको प्रभावलाई पनि कथाको महत्वपूर्ण पृष्ठभूमि बनाएको छ । घरका पुरुषहरू रोजगारीका लागि भारत वा अन्य मुलुक जाने, घरमा वृद्ध अभिभावक र महिलाहरूको जिम्मेवारी बढ्ने तथा वर्षौंसम्म परिवारको सदस्यको कुनै खबर नआउने अवस्था नेपाली समाजका लागि नयाँ होइन । गौरीका बुबाको बीस वर्ष लामो अनुपस्थिति र धिरुको पाँच वर्षको पल्टन बसाइँले फरकफरक तहमा यही सामाजिक यथार्थलाई देखाउँछ । एउटा पुरुषको अनुपस्थिति केवल उसको व्यक्तिगत यात्रा हुँदैन, त्यसले घरमा रहेका मानिसहरूको जीवन, मनोविज्ञान र सामाजिक सम्बन्धलाई समेत प्रभावित गर्छ । नाटकले यही अनुपस्थितिलाई गौरीको आँखाबाट हेरेको छ ।

हरिको वास्तविकता बाहिर आउँछ । त्यसपछि गौरीले अर्को पुरुष पात्र धिरुबाट पनि अपेक्षित साथ पाउँदिन । बरु उसैले गौरीको निष्ठा र पवित्रतामाथि प्रश्न उठाउँछ । यही क्षणबाट गौरीको चरित्रमा निर्णायक परिवर्तन सुरु हुन्छ । यहाँ नाटकले पुरुषप्रधान समाजको एउटा पुरानो दोहोरो मापदण्डलाई प्रश्न गर्छ । वर्षौंसम्म घरबाट टाढा रहने पुरुषमाथि समाजले सहजै विश्वास गर्छ, तर उसलाई कुरेर बस्ने महिलाले भने निरन्तर आफ्नो निष्ठा प्रमाणित गरिरहनुपर्छ ।
गौरीको प्रश्न यही ठाउँमा गम्भीर बन्छ कि पुरुषले गल्ती गर्दा त्यसलाई परिस्थिति मान्ने समाजले महिलाले भोगेको परिस्थिति किन देख्दैन ? यही प्रश्नसँगै गौरी अब केवल बुबाको प्रतीक्षा गरिरहेकी छोरी वा प्रेमीको बाटो हेरिरहेकी प्रेमिका रहँदिन । ऊ आफ्नो निर्णय आफैं गर्न सक्ने पात्रका रूपमा विकसित हुन्छे । हरि र धिरु दुवैलाई अस्वीकार गर्ने उसको निर्णय केवल व्यक्तिगत विद्रोह होइन, आफ्नो अस्तित्वमाथि आफैंको अधिकार स्थापित गर्ने प्रयास हो । यस अर्थमा गौरीको यात्रा नाटकको सबैभन्दा महत्त्वपूर्ण वैचारिक यात्रा हो ।

पात्रहरू कृत्रिमभन्दा बढी स्वाभाविक लाग्छन् । स्थानीय लवजलाई संवादमा उतार्दा अभिनयमा एउटा छुट्टै प्रामाणिकता आएको छ । भावुकता र हास्य, लोकविश्वास र सामाजिक यथार्थ, प्रेम र अविश्वासलाई एउटै कथाभित्र राख्ने प्रयास गरिएको छ । ‘श्री बिज्जो भूत’ को वास्तविक ‘भूत’ केवल लोकविश्वासमा रहेको कुनै अदृश्य शक्ति होइन । नाटकले देखाउने वास्तविक डर त असत्य, छल, पितृसत्तात्मक सोच र समाजले महिलामाथि थोपरेको दोहोरो मापदण्ड हो र बिज्जो भूतको मिथकले जस्तै नाटकले पनि अन्ततः सत्यको पक्ष लिन्छ तर त्यो सत्य कुनै एक पात्रको मात्र होइन, आफ्नो अस्तित्व र आत्मसम्मानका लागि उभिन खोजिरहेकी गौरीको सत्य हो । सुदूरपश्चिमको स्थानीय स्वाद, लोकमिथक र समकालीन सामाजिक प्रश्नलाई एउटै मञ्चमा जोड्ने प्रयासका कारण ‘श्री बिज्जो भूत’ एउटा आञ्चलिक कथा भएर सुरु हुन्छ र व्यापक नेपाली समाजको कथा बनेर सकिन्छ । यही नै यस नाटकको सबैभन्दा अर्थपूर्ण पक्ष हो । आगामी दिनमा यस नाटकमा आवद्ध टीमलाई नयाँ शृङ्खला ल्याउन बिज्जो भूतले प्रेरित गरोस् । बिज्जो भूत साँच्चै पुजनीय छ भने यी कलाकार, निर्देशक तथा सम्पूर्ण टीमलाई अझै जागरुक बनाइ नयाँ नयाँ नाटक कोर्नमा अगाडी बढाउन प्रेरित गरोस् । बिज्जो भूतले हौशला थपोस् र प्रगतिको बाटोमा पुर्याउन सहयोग गरोस् । धन्यवाद





