प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण पहाडी सडकमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सवारी आवागमन रोक्ने निर्णय गरेका हुन्। उनका अनुसार पहाडी जिल्लामा सार्वजनिक तथा निजी गरी कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन। तराईका कैलाली र कञ्चनपुरमा भने तत्काल जोखिम कम रहेकाले सवारीसाधन सञ्चालनमा छन्।
ट्राफिक प्रहरीले रोकसम्बन्धी सूचना थाहा नपाई पहाडी क्षेत्रमा जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ। सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त पहाडी सडकमा यात्रा नगर्न तथा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत आग्रह गरेको छ।





