काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार २५ वर्षीय चालक दावा लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको हो।
अस्पतालका अनुसार आगलागीबाट लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीबाट चालक गम्भीर घाइते भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालेको जनाइएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग जरिवानाको विषयलाई लिएर विवाद भएको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि छानबिन समिति गठन भइसकेको छ। समितिले घटनाको कारण, आगलागीको अवस्था तथा त्यसअघि भएका घटनाक्रमबारे अध्ययन गर्नेछ।



