काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ७ गतेदेखि नेपालमा मनसुन प्रणाली थप सक्रिय हुनसक्ने जनाएको छ। महाशाखाका अनुसार मौसम तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषण गर्दा मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। यसको प्रभावका कारण नेपालमा मनसुनी गतिविधि केही बढेको महाशाखाले जनाएको छ।
हालसम्मको मौसम प्रक्षेपणअनुसार असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप बलियो भई दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना देखिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा गराउने गतिविधि बढ्न सक्ने महाशाखाले जनाएको छ। तर, नेपालमा हुने वर्षाको मात्रा, जोखिम र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाको भनाइ छ।
महाशाखाले मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ। मौसमको अवस्थाबारे थप स्पष्ट विवरण प्राप्त भएपछि आवश्यकताअनुसार सूचना तथा पूर्वानुमान सार्वजनिक गरिने महाशाखाले जनाएको छ।
महाशाखाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि आधिकारिक सूचना तथा पूर्वानुमानमा भर पर्न अनुरोध गरेको छ।




