काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यले नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवालाई विस्तार गर्दै नियमित र दिगो रूपमा सञ्चालन गर्न स्थानीय तहहरूबीच समझदारी भएको हो।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुख र साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपछि उपत्यकामा रात्रिकालीन सेवाका लागि ३० वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ। अब बसहरू राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–विमानस्थल रुटमा सात वटा बसमार्फत राति ८ बजेदेखि ११ बजेसम्म परीक्षणका रूपमा सेवा सञ्चालन हुँदै आएको थियो। विस्तारित सेवाअन्तर्गत बुढानीलकण्ठ–लगनखेल–गोदावरी, नागढुंगा–विमानस्थल, कीर्तिपुर–जमल, टाखेल–ठमेल, जगाती–सूर्यविनायक–ठमेल तथा रिङरोड परिक्रमा गरी विभिन्न रुटमा बस सञ्चालन हुनेछन्। रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा गरी आठ वटा बस सञ्चालन हुनेछन् भने कीर्तिपुर–जमलमा चार, टाखेल–ठमेलमा दुई तथा नागढुंगा–विमानस्थल रुटमा चार वटा बस सञ्चालन गरिनेछ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन बस सेवा विस्तारलाई नागरिकका आधारभूत आवश्यकताको पहुँच विस्तार गर्ने कार्यक्रमका रूपमा लिएको बताइन्। परीक्षण अवधिमा सञ्चालन गरिएका दुई रुटलाई थप चार रुटमा विस्तार गर्दै सात वटा बसबाट ३० वटा बस पुर्याइएको उल्लेख गर्दै उनले स्थानीय तहको सहकार्यमा सेवा अझ विस्तार गरिने बताइन्। उनले रात्रिकालीन सेवा अब नरोकिने र निरन्तर तथा दिगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात सहज बनाउन संघीय तहबाट मेट्रो वा बस र्यापिड ट्रान्जिटजस्ता ठूला पूर्वाधार अघि बढ्न नसकेको अवस्थामा स्थानीय तहले आफ्नो स्तरबाट गर्न सक्ने कामका लागि सहकार्य थालेको बताए। उनले रातिको समयमा सर्वसाधारणलाई सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पहल भएको उल्लेख गर्दै यसलाई थप विस्तार गर्दै लैजाने बताए।
साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहलाई साझाको अभिभावकका रूपमा जोड्न पाउनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले रात्रिकालीन सेवा विस्तारसँगै उपत्यकाका विभिन्न क्षेत्रलाई सार्वजनिक यातायातको सञ्जालमा जोड्न सहयोग पुग्ने बताए। गत वैशाख १ गतेदेखि सञ्चालन गरिएको परीक्षण सेवाको प्रभाव, मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणपछि यात्रुबाट प्राप्त हुने आम्दानीभन्दा सार्वजनिक सेवा महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको साझा यातायातले जनाएको छ। यात्रुबाट प्राप्त टिकट आम्दानीले रात्रिकालीन सेवा सञ्चालनको खर्च धान्न नसकेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा बेहोर्ने र बाँकी ५० प्रतिशत काठमाडौं महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ–नौ प्रतिशतका दरले बेहोर्ने सहमति भएको छ।
बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी छन्। उनले रातको समयमा आवतजावत गर्ने नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले साझा यातायातसँगको सहकार्यमा सेवा विस्तार गरिएको बताइन्। उनका अनुसार संविधान दिवसको अवसरदेखि उपत्यकामा ३० वटा विद्युतीय बसमार्फत राति ८ बजेदेखि मध्यराति १२ बजेसम्म रात्रिकालीन सेवा सञ्चालन हुनेछ। विभिन्न स्थानीय तहबीचको सहकार्यबाट सञ्चालन गरिएको यो सेवाले रातिको समयमा काम गर्ने, अध्ययन गर्ने तथा अत्यावश्यक कामले यात्रा गर्नुपर्ने नागरिकलाई सहज हुने उनले बताइन्। उपमेयर लामाले स्थानीय तहबीचको सहकार्यलाई निरन्तरता दिँदै यात्रुको माग र आवश्यकताका आधारमा आगामी दिनमा रात्रिकालीन सार्वजनिक यातायात सेवा थप विस्तार गर्न सकिने बताइन्।

सेवा सञ्चालनका लागि खर्च अपुग भए साझा यातायातले त्रैमासिक रूपमा सम्बन्धित स्थानीय तहसँग रकम माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसले रात्रिकालीन सार्वजनिक यातायातलाई यात्रुबाट मात्र प्राप्त हुने आम्दानीमा निर्भर नराखी स्थानीय तहको सहकार्यमा सञ्चालन गर्ने आधार तयार गरेको छ। रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। आर्थिक वर्ष २०८३/८४ भित्र ती स्थानमा डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ भने सम्बन्धित स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।
त्यस्तै, निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित स्थानीय तहले लिनेछन्। रात्रिकालीन सेवामा यात्रुको चाप र आवश्यकता बढ्दै गए भविष्यमा अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने बाटो खुला भएको छ। चक्रपथमा दुवैतर्फ बस सञ्चालन हुने भएकाले एक स्थानमा बस परिवर्तन गरी उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सकिने र यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने जनाइएको छ।
साझा यातायातले टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत विकास गरेको छ। यात्रुले क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्ने व्यवस्था गरिएको छ। डिजिटल टिकटिङबाट आर्थिक चुहावट घट्ने र संस्थाको सञ्चालन घाटासमेत कम हुने अपेक्षा गरिएको छ। साझा यातायातमा नेपाल सरकारको तीन अर्ब रुपैयाँ तथा काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस रहेका छन्।
रात्रिकालीन बस सेवा विस्तारपछि रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। स्थानीय तहबीचको सहकार्यले उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई रातको समयसम्म विस्तार गर्नुका साथै विद्युतीय सार्वजनिक यातायातको प्रयोगलाई समेत बढावा दिने विश्वास गरिएको छ।




