काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताको छात्रतर्फको फाइनलमा पुरानो गुह्येश्वरी स्कुल र भीमेश्वर स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै छात्रातर्फको फाइनलमा पुरानो गुह्येश्वरी र जल्पा स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। दुवै विधाका फाइनल खेल भोलि आयोजना हुनेछन्। विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी खेलाडीको सहभागितामा आयोजना गरिएको प्रतियोगिताको पहिलो चरणमा लिगका १२ खेल सम्पन्न भएका थिए। त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनलमा पुगेका थिए।

विद्यालयस्तरमा कबड्डी खेलको विकास, विद्यार्थीमा खेल भावना, अनुशासन, शारीरिक क्षमता तथा टोलीगत सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। नेक्सस इन्टरनेशनल स्कुलका संस्थापक प्रिन्सिपल आरबी कटवालले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै विद्यार्थीको खेल प्रतिभा प्रस्फुटनका लागि प्रतियोगितालाई निरन्तरता दिइने बताएका छन्।
प्रतियोगिताको व्यवस्थापन तथा खेलसम्बन्धी समन्वय विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विवश मुस्यानले गरिरहेका छन्। प्रतियोगिताको फाइनलसँगै यस वर्षको नेक्सस कबड्डी कप २०८३ को विजेता टोलीको टुंगो लाग्नेछ।



