काठमाडौं – नेपाल व्यापार संघको दोस्रो कार्यसमितिको पूर्ण बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष गिरिराज पोखरेलको अध्यक्षतामा गौशालास्थित होटल पौवा प्रालिमा बैठक सम्पन्न भएको हो। अध्यक्ष पोखरेलले पानसमा बत्ती बालेर बैठकको औपचारिक उद्घाटन गरेका थिए।
बैठकमा संघका संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, पूर्व अध्यक्ष कुमार कार्की, निवर्तमान अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्मा, प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्ट, द्वितीय उपाध्यक्ष श्यामसुन्दर रुङ्गाटा, महिला उपाध्यक्ष लक्ष्मी कुमारी बराल र पद्म कुमारी बराल सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षहरू दीपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोर गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्माको पनि बैठकमा सहभागिता रहेको थियो। कोषाध्यक्ष देवराज कार्की, उपमहासचिवद्वय दीपक प्रसाद सापकोटा र जगन्नाथ खनाल तथा सचिवहरू सुसिला चौलागाईं, शर्मिला लुईँटेल, उद्धवप्रसाद गौतम, प्रविन बगाले, सल्लाहकार समिति सदस्य तथा लायन्स क्लब ३२५ डी का फष्ट भाइस डिस्टिक गभर्नर लायन धर्मशरण श्रेष्ठ लगायत अन्य प्रतिनिधिहरु तथा कार्यसमितिका सदस्यहरु सहभागी भएका थिए। कार्यक्रम सञ्चालन महासचिव ज्योति कुमार श्रेष्ठले गर्नुभएको थियो ।

महासचिव श्रेष्ठले संघको प्रथम बैठकदेखि सचिवालय बैठकसम्म भएका निर्णय, तिनको कार्यान्वयन तथा हालसम्मको कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा संघका हालसम्मका सामाजिक, आर्थिक तथा प्रशासनिक गतिविधिको समीक्षा गर्दै पदाधिकारी तथा सदस्यहरूले धारणा राखेका थिए। बैठकले संघको आम्दानी तथा खर्च अनुमोदन, कार्यशाला तथा गोष्ठी आयोजना, सदस्यता विस्तार, संगठन तथा कार्यक्षेत्र विस्तार, कार्यालय तथा सचिवालय सञ्चालनलगायत विषयमा छलफल गरेको थियो। त्यस्तै संघको कोष व्यवस्थापन, विधान कार्यान्वयन, योजना तर्जुमा, नीति निर्माण तथा कार्यविधिसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।
केरुङ नाकाबाट आयात गरिएका सामान बाढीपहिरोका कारण भएको क्षति तथा तातोपानी नाका सञ्चालनका लागि सरकारसँग आवश्यक पहल गर्ने विषयमा समेत बैठकमा छलफल भएको संघले जनाएको छ। बैठकमा सल्लाहकार समितिका सभापति, उपसभापति तथा सदस्यहरूलाई स्वागत तथा प्रमाणपत्रले सम्मान गरिएको थियो। विभिन्न पदाधिकारी तथा सल्लाहकार समितिका प्रतिनिधिले संघको आगामी कार्यदिशा तथा गतिविधिका विषयमा धारणा राखेका थिए। कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र दिनुका साथै मनोनित सदस्यहरुलाई समेत प्रमापपत्रले सम्मान गरिएको थियो ।

सामाजिक उत्तरदायित्वका गतिविधिको समीक्षा
बैठकमा संघले पछिल्लो अवधिमा सञ्चालन गरेका सामाजिक तथा नागरिक उत्तरदायित्वसम्बन्धी गतिविधिको समेत समीक्षा गरिएको थियो। संघले पछिल्लो अवधिमा विभिन्न सामाजिक तथा नागरिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। २०८३ वैशाख ११ गते महाबौद्धस्थित गणेश मन्दिर परिसरमा किशोर कुमार गौतमको संयोजनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। वैशाख २० गते छत्रदेव, अर्घाखाँचीस्थित महेन्द्र विद्याबोध राममणी नेत्रलाल उच्च माध्यमिक विद्यालयमा खेलकुद स्वर्णजयन्तीका लागि सामग्री वितरण गरिएको थियो।
जेठ २ गते सेवक नेपालमा रहेका ३८ जना अनाथ बालबालिकाका लागि विद्यालय पोशाक हस्तान्तरण गरिएको थियो, जसको सौजन्य सुकुन्द प्रधानले गरेका थिए भने कार्यक्रमको संयोजन राजु गौतमले गरेका थिए। जेठ ४ गते जनसेवा प्रहरी वृत्त विशालबजार, काठमाडौंको भवन निर्माण सहयोगार्थ नेपाल व्यापार संघका तर्फबाट ५१ हजार १०६ रुपैयाँ सहयोग रकम प्रमुख डीएसपी भीमबहादुर थापालाई हस्तान्तरण गरिएको थियो। त्यस्तै भदौ १७ गते रसुवागढी, भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीपहिरोका कारण घरबारविहीन भएका तथा आफन्त गुमाएका पीडितका लागि राहत संकलन तथा हस्तान्तरण कार्यक्रम नुवाकोटस्थित जिल्ला समन्वय समितिमार्फत सञ्चालन गरिएको संघले जनाएको छ। जसको संयोजकको भूमिका चक्र प्रसाद पौडेल सागरले गर्नुभएको थियो ।

बैठकको समापन गर्दै अध्यक्ष गिरिराज पोखरेलले आगामी योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने धारणा राखेका थिए। अध्यक्ष पोखरेलले संघले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । रक्तदान, शैक्षिक तथा खेलकुद सामग्री वितरण, अनाथ बालबालिकालाई सहयोग, प्रहरी भवन निर्माणका लागि आर्थिक सहयोग तथा बाढीपहिरो प्रभावितलाई राहत वितरणजस्ता कार्यक्रम संघको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उनले बताउनुभयो। आगामी दिनमा पनि विपद्मा परेका नागरिकलाई सहयोग, शिक्षा, स्वास्थ्य, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा आवश्यकताका आधारमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै संघको सामाजिक भूमिका अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ।

संघका संस्थापक अध्यक्ष रुवयनाथ कोइरालाले संघको स्थापना र हालसम्मको यात्रामा व्यवसायीका समस्या तथा हकहितका विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले बदलिँदो व्यापारिक वातावरण र व्यवसायीका नयाँ चुनौतीलाई सम्बोधन गर्न संघलाई अझ सक्रिय र एकताबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। व्यवसायीबीच सहकार्य र एकता कायम गर्दै संस्थाको उद्देश्यअनुसार सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष हरि गौतमले नेपाल व्यापार संघको इतिहास र व्यवसायीहरूले विभिन्न प्राकृतिक विपद् तथा प्रकोपका क्रममा भोग्दै आएका समस्याबारे धारणा राख्नुभयो। उहाँले नाकामा सरकारले व्यवसायीका लागि बीमालगायत आवश्यक व्यवस्थासमेत गर्न नसकेको तथा व्यवसायीलाई सहजीकरण गर्नुको सट्टा त्रास सिर्जना गर्ने काम भइरहेको बताउनुभयो। भन्सार बिन्दुमै एमआरपीको व्यवस्था कार्यान्वयनका लागि व्यवसायीहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले व्यवसायीहरू नियम–कानुन पालना गर्न तयार रहे पनि सरकारले पनि व्यवसायीको साथमा उभिएर सहजीकरण र संरक्षणको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।
पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका सभापति कुमार कार्कीले व्यापार व्यवसाय क्षेत्रका समस्या समाधानका लागि संघलाई थप संगठित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले व्यवसायीका हकहितसँगै राज्यका निकायसँग निरन्तर समन्वय र संवाद गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो। संघले आफ्ना सदस्यका समस्या पहिचान गरी सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो।





