काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। प्रतियोगितामा विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत छात्रतर्फ दुई समूह बनाइएको छ। समूह ‘ए’मा हाइली क्रिएटिभ, जल्पा स्कुल, पुरानो गुहेश्वरी र नालन्दा विद्या मन्दिर रहेका छन् भने समूह ‘बी’मा रेडियन्ट रिडर्स, बेलर इन्टरनेसनल एकेडेमी, नेक्सस इन्टरनेशनल एकेडेमी र भीमेश्वर एकेडेमी रहेका छन्।
छात्रातर्फ पनि दुई समूहमा टोली विभाजन गरिएको छ। समूह ‘ए’मा बेस्ट ग्रुप भिजन, कोपेस, जल्पा र पुरानो गुहेश्वरी रहेका छन् भने समूह ‘बी’मा नेक्सस, भीमेश्वर, हाइली क्रिएटिभ र कन्या मन्दिर रहेका छन्।
प्रतियोगिताको तालिकाअनुसार २०८३ जेठ २ गते अर्थात शुक्रबार छात्रतर्फ पहिलो खेल बिहान १०ः३० बजे हुनेछ। छात्रातर्फ समूह चरणका खेलहरू क्रमशः बिहान १०ः३०, ११ः००, १२ः३०, दिउँसो २ः००, २ः३० र ३ः०० बजे सञ्चालन हुनेछन्। पहिलो चरणमा खेल अवधि ७/७ मिनेटको हुनेछ भने सेमिफाइनल चरणको खेल अवधि १० मिनेटको हुनेछ ।
यस्तै, छात्रातर्फको खेलपछि छात्रा समूहका खेलहरू सञ्चालन हुनेछन्। छात्रातर्फ समूह चरणमा बेस्ट ग्रुप भिजन र कोपेस, नेक्सस र भीमेश्वर, हाइली क्रिएटिभ र कन्या मन्दिर, बेस्ट ग्रुप भिजन र पुरानो गुहेश्वरी, नेक्सस र हाइली क्रिएटिभ तथा भीमेश्वर र कन्या मन्दिरबीच प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी सबै विद्यालयले उद्घाटन समारोहका लागि बिहान ९ बजेभित्र उपस्थित भइसक्नुपर्नेछ। खेल सञ्चालनका क्रममा खेल बोलाएपछि अधिकारीहरूले बढीमा पाँच मिनेटसम्म मात्र प्रतीक्षा गर्ने व्यवस्था गरिएको छ।
विद्यालयस्तरमा कबड्डी खेलको विकास, विद्यार्थीमा खेल भावना, अनुशासन, शारीरिक क्षमता तथा टोलीगत सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको दोस्रो संस्करणले छात्र तथा छात्रा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।



