काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने भएको छ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव देखिएको र मूल्य बढेको गुनासो सार्वजनिक भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पार्दै सहज रूपमा बिक्रीको व्यवस्था मिलाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकमा भएको सहमतिअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चिनी उपलब्ध गराई उपत्यकाका खुद्रा तथा थोक बिक्री केन्द्रबाट उपभोक्तालाई प्रतिकेजी ११० रुपैयाँमा बिक्री गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख जितेन्द्र बस्नेतले बिहीबारदेखि नै उपत्यकामा चिनीको आपूर्ति सहज हुने र उपभोक्ताले प्रतिकेजी ११० रुपैयाँमा चिनी खरिद गर्न सक्ने जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल खुद्रा व्यापार सङ्घ, नेपाल खाद्य किराना तथा थोक सङ्घ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट उक्त मूल्यमा चिनी उपलब्ध गराइनेछ।
सरकारको निर्णयअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रतिकेजी १०५ रुपैयाँमा चिनी उपलब्ध गराई खुद्रा तथा थोक व्यापारीले उपभोक्तालाई प्रतिकेजी ११० रुपैयाँमा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका ठूला डिपार्टमेन्ट स्टोरले समेत नाफा नभए पनि प्रतिकेजी ११० रुपैयाँमै चिनी बिक्री गर्न सहमति जनाएको सहसचिव बस्नेतले बताउनुभयो।
साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी प्रमुख ब्रजेश झाले सरकारको निर्देशनअनुसार खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी १०५ रुपैयाँमा चिनी बिक्री गर्न थालिएको जानकारी दिनुभयो। यस व्यवस्थाबाट बजारमा देखिएको चिनी अभाव कम हुने र चाडपर्वका समयमा उपभोक्ताले सहज रूपमा चिनी पाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतबाट एक प्रतिशत भन्सार दरमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय भएको छ। त्यस्तै, नेपालका चिनी उद्योगबाट २० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरिएको छ। भारतबाट आयात हुने र स्वदेशी उद्योगबाट खरिद गरिने गरी कुल ४५ हजार मेट्रिक टन चिनीको व्यवस्थापन भएपछि कात्तिकसम्मको माग धान्न सकिने मन्त्रालयको भनाइ छ। त्यसपछि स्वदेशी उद्योगबाट नयाँ उत्पादन बजारमा आउन थाल्ने अपेक्षा गरिएको छ।
नेपालमा वार्षिक करिब तीन लाख मेट्रिक टन चिनीको माग हुने गरेको छ। तर स्वदेशी उद्योगबाट करिब एक लाख मेट्रिक टन मात्रै उत्पादन हुने भएकाले बाँकी चिनी भारतलगायतका मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेको छ। पछिल्लो समय भारतले आफ्नै बजारमा चिनीको आपूर्ति व्यवस्थापन गर्न निर्यातमा कडाइ गरेपछि नेपालमा समेत चिनीको आपूर्तिमा समस्या देखिएको अधिकारीहरूले बताएका छन्।
उद्योगीका कारण अभाव भएको मन्त्रालयको दाबी
आपूर्ति महाशाखा प्रमुख बस्नेतले पछिल्लो समय बजारमा देखिएको चिनी अभाव सरकारको कारण नभई उद्योगी तथा बजार व्यवस्थापनसँग सम्बन्धित विषयका कारण भएको दाबी गर्नुभयो। उहाँले विगतमा भारतबाट पर्याप्त चिनी आयात हुने समयमा स्वदेशी उद्योगीले आयातका कारण आफ्नो उत्पादन बिक्री नहुने भन्दै भन्सार बढाउन माग गरेको र अहिले भारतले निर्यातमा कडाइ गरेपछि चिनी अभावको समस्या देखिएको बताउनुभयो।
मन्त्रालयका अनुसार नेपालमा खपत हुने कुल चिनीमध्ये करिब ४० प्रतिशत औद्योगिक प्रयोजनमा प्रयोग हुने गरेको छ। कोकाकोला, पेप्सी, मिठाईलगायतका उद्योगमा ठूलो परिमाणमा चिनी प्रयोग हुन्छ भने बाँकी करिब ६० प्रतिशत आमउपभोक्ताको माग धान्न प्रयोग हुने गरेको मन्त्रालयको भनाइ छ। औद्योगिक प्रयोजनका लागि आवश्यक चिनी उद्योगीहरूले पहिले नै मौज्दात राखिसकेको र अहिले मुख्य समस्या आमउपभोक्ताका लागि आवश्यक चिनीको आपूर्तिमा देखिएको बताइएको छ।
सरकारको निर्णयअनुसार भारतबाट भन्सार छुटमा आयात हुने चिनी आउन थालिसकेको मन्त्रालयले जनाएको छ। दसैँअघि नै आवश्यक चिनीको ठूलो परिमाण नेपाल भित्रिसक्ने र बजारमा आपूर्ति सहज हुने मन्त्रालयको अपेक्षा छ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्रचार्यले पछिल्लो एक महिनादेखि अधिकांश खुद्रा व्यापारीले चिनी बिक्री गर्न नसकेको बताउनुभयो। साल्ट ट्रेडिङ कर्पोरेसनबाट चिनी उपलब्ध भए प्रतिकेजी ११० रुपैयाँमा उपभोक्तालाई बिक्री गर्न आफूहरू तयार रहेको उहाँले जानकारी दिनुभयो।
खुद्रा व्यापारीलाई चिनीको अभाव र कालोबजारीका विषयमा नियमनकारी निकायले कारबाहीको दायरामा ल्याउने गरेको भन्दै उहाँले आपूर्ति व्यवस्थाको वास्तविक समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताउनुभयो। चिनीको अभाव सिर्जना गर्ने पक्ष पहिचान गरेर खुद्रा व्यापारीमाथि मात्र दबाब दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा चिनी उपलब्ध हुँदाहुँदै उद्योगी वा ठूला व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको अवस्थामा सरकारको निर्णयले उपभोक्तालाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। चाडपर्वका समयमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा पर्याप्त मौज्दात र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारले प्रभावकारी अनुगमन तथा नियमनलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।



