देउवा समूहमा रहेका अधिकांश पूर्वपदाधिकारी गगन नेतृत्वको महाधिवेशनतर्फ

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका अधिकांश पदाधिकारी संस्थापन पक्षबाट अलग हुँदै सभापति गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने अवस्थामा पुगेका छन्।

१४औँ महाधिवेशनमा १३ पदाधिकारीमध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवासहित आठ जना निर्वाचित भएका थिए। उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू किशोरसिंह राठोर, भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा पक्षबाट निर्वाचित भएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएर पछि कोषाध्यक्षमा मनोनीत भएका उमेश श्रेष्ठ पनि त्यतिबेला देउवा समूहमा थिए।

तर १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा निकटका अधिकांश पूर्वपदाधिकारीले आफ्नो पुरानो समूह छाड्ने क्रम तीव्र भएको छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। विशेष महाधिवेशनलाई मान्यता नदिन तथा संस्थापनले अघि बढाएको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका पूर्वउपसभापति पूर्णबहादुर खड्का पनि पछिल्लो समय संस्थापन पक्षतर्फ ढल्किएका छन्।

खड्काले सर्वोच्चमा पुनरावलोकनको रिट दायर गरेका कारण महाधिवेशनमा प्रत्यक्ष सहभागी हुँदा नैतिक प्रश्न उठ्ने भन्दै आफू सहभागी नहुने धारणा राखेका छन्। तर सभापति थापा नेतृत्वमा हुने नियमित महाधिवेशनप्रति उनले समर्थन जनाउँदै शुभेच्छा व्यक्त गरेको कांग्रेस नेताहरू बताउँछन्।

देउवा निकटका नेताहरूले समेत खड्कासँग परामर्श गरेपछि १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन्। सोमबार पूर्वसंस्थापन पक्षका नेताहरूले खड्कासँग भेटेर महाधिवेशनबारे छलफल गरेका थिए।

भेटमा सहभागी कांग्रेस नेता श्याम घिमिरेका अनुसार खड्का महाधिवेशनमा सहभागी नहुने भए पनि महाधिवेशन गर्ने विषयमा सकारात्मक छन्। ‘पूर्णबहादुर दाइ महाधिवेशनमा भाग लिनुहुन्न । महाधिवेशन गर्ने कुरामा उहाँको समर्थन छ,’ घिमिरेले भने।

विशेष महाधिवेशनको विपक्षमा रहेका र संस्थापनले तोकेको महाधिवेशन प्रक्रियामा सहभागी हुने पूर्वकेन्द्रीय सदस्यको संख्या ४० भन्दा बढी हुने घिमिरेको दाबी छ।

धनराज गुरुङ पनि महाधिवेशनमा सहभागी हुने तयारीमा

१४औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङ पनि संस्थापनले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने मनस्थितिमा रहेको कांग्रेस नेताहरूले बताएका छन्।

विशेष महाधिवेशनको विपक्षमा रहेका गुरुङले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन्। यद्यपि उनी नेता शेखर कोइरालाको निर्णयको प्रतीक्षामा रहेको बताइएको छ।

स्याङ्जाका एक कांग्रेस नेताका अनुसार गुरुङ महाधिवेशनमा सहभागी हुन इच्छुक छन्। उनले भने, ‘धनराज दाइ महाधिवेशनमा आउन इच्छुक हुनुहुन्छ । उहाँले समूहका नेता शेखरको निर्णय कुर्नुभएको छ।’

यससँगै १४औँ महाधिवेशनमा शेखर प्यानलबाट निर्वाचित केही नेतासमेत गगन नेतृत्वको महाधिवेशन प्रक्रियातर्फ जाने सम्भावना बढेको छ।

प्रदीप पौडेल विशेष महाधिवेशनबाट महामन्त्री

१४औँ महाधिवेशनमा देउवा–सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेल भने गत पुसमा भएको विशेष महाधिवेशनबाट खुलेर गगन थापा पक्षमा लागेका थिए। उनी विशेष महाधिवेशनबाट महामन्त्री बनेका हुन्।

महामन्त्री पौडेलले क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकका रूपमा सदस्यता व्यवस्थापनको काम अघि बढाएका छन्। उनी विधान संशोधन मस्यौदा समितिको संयोजकसमेत छन्।

आठ सहमहामन्त्रीमध्ये अधिकांश समूह परिवर्तनतर्फ

कांग्रेसमा समावेशिताका आधारमा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। १४औँ महाधिवेशनमा आठ सहमहामन्त्रीमध्ये छ जना देउवा पक्षबाट निर्वाचित भएका थिए। अहिले तीमध्ये अधिकांश संस्थापन पक्षबाट अलग भइसकेका छन् वा महाधिवेशनमा गगन नेतृत्वको प्रक्रियामा सहभागी हुने अवस्थामा पुगेका छन्।

आदिवासी जनजाति क्लस्टरबाट देउवा पक्षबाट निर्वाचित भीष्मराज आङ्देम्बे अहिले संस्थापन पक्षमा छन्। उनी प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेतासमेत छन्।

महिला क्लस्टरबाट सहमहामन्त्री निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ ले पनि सभापति थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुने निर्णय गरेकी छन्। पूर्वउपसभापति खड्कासँग परामर्शपछि उनी महाधिवेशन प्रक्रियामा अघि बढेकी हुन्।

मधेशी क्लस्टरबाट देउवा पक्षबाट निर्वाचित महेन्द्र यादव पनि अहिले संस्थापन पक्षमा छन्। सभापति थापाले निर्वाचनपछि मनोनीत गरेका १९ जना केन्द्रीय सदस्यमध्ये यादवसमेत रहेका छन्।

दलित क्लस्टरबाट निर्वाचित जीवन परियार पनि हाल संस्थापन पक्षमा छन्। उनी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटसम्बन्धी ‘निर्वाचन ब्युरो’मा उपप्रमुख छन् भने विधान संशोधन समितिमा समेत सदस्य छन्।

यसैगरी खसआर्य क्लस्टरबाट देउवा पक्षबाट निर्वाचित किशोरसिंह राठोर भने अहिले देउवा समूहमा नरहेको बताइएको छ। उनले देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागिता जनाएका थिएनन्।

मुस्लिम क्लस्टरबाट निर्वाचित फरमुल्लाह मन्सुर भने विशेष महाधिवेशनका अगुवामध्येका एक हुन्। तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गर्ने निर्णयका क्रममा मन्सुरसमेत पदमुक्त भएका थिए।

पिछडिएको भूगोल क्लस्टरबाट शेखर प्यानलबाट सहमहामन्त्री निर्वाचित बद्री पाण्डे भने अझै अनिर्णीत छन्। उनी शेखर कोइरालाको निर्णयको प्रतीक्षामा रहेको बताइएको छ।

देउवासँग उमाकान्त चौधरी मात्रै

१४औँ महाधिवेशनमा देउवा समूहबाट थारु क्लस्टरमा निर्वाचित उमाकान्त चौधरी अहिले पूर्वसभापति देउवासँग रहने एकमात्र पूर्वपदाधिकारीका रूपमा देखिएका छन्। सिटौला निकट चौधरी संस्थापन इतरको छुट्टै महाधिवेशनको पक्षमा रहेको बताइएको छ।

देउवाले केन्द्रीय सदस्यमा निर्वाचित गरी कोषाध्यक्षमा मनोनीत गरेका उमेश श्रेष्ठ पनि विशेष महाधिवेशनपछि देउवा समूहबाट अलग भएका छन्। उनी अहिले सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा कोषाध्यक्ष छन्।

प्रदेश र जिल्ला तहमा पनि देउवा समूह कमजोर

पूर्वपदाधिकारीसँगै प्रदेश तथा जिल्ला तहमा समेत देउवा समूह कमजोर बन्दै गएको देखिएको छ।

१४औँ महाधिवेशनमा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका सभापति निर्वाचित भएका थिए। तर अहिले सुदूरपश्चिमका वीरबहादुर बलायरबाहेक अन्य प्रदेश सभापतिले पूर्वसंस्थापन पक्ष छाडिसकेको बताइएको छ।

जिल्ला सभापतिहरूमध्ये पनि देउवा पक्षमा रहनेको संख्या घटेको छ। देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा करिब १० जिल्लाका सभापति मात्रै सहभागी भएको नेताहरूले बताएका छन्।

यसरी १५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा १४औँ महाधिवेशनमा बलियो रहेको देउवा समूहका पूर्वपदाधिकारी, प्रदेश नेतृत्व र जिल्ला नेतृत्वको ठूलो हिस्सा क्रमशः संस्थापन पक्षबाट अलग हुँदै गएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्