मनोहरा खोलामा बाढी, खोला किनारका बासिन्दा रातारात सुरक्षित स्थानमा सारिए

File photo

काठमाडौँ – भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनोहरा खोलामा गएराति बाढी आएको छ । चाँगुनारायणको नगरकोट, काठमाडौँको साँखुलगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको भारी वर्षापछि मनोहरा खोलामा पानीको बहाव बढ्दा खोला किनारका बस्तीमा बाढी पसेको हो । खोलामा पानीको बहाव बढेपछि प्रहरीले राति नै खोला किनारमा जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार खोला किनारमा टहरा तथा घर बनाएर बसोबास गर्दै आएकाहरूलाई राति नै भक्तपुरको लोकन्थली हाइटतर्फ सारिएको हो । बाढीको जोखिम बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

मनोहरा खोलाको बहाव राति करिब ९ बजे बढेपछि प्रहरीले साइरन बजाएर आसपासका बासिन्दालाई सचेत गराएको थियो । प्रहरीले मनोहरा खोलाको किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा नजानसमेत सर्वसाधारणलाई अनुरोध गरेको थियो । रातको समयमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले उद्धार तथा सुरक्षा सतर्कता बढाएको थियो । बाढीका कारण जडीबुटी–पेप्सीकोला क्षेत्रको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर तथा आफ्नै जग्गामा घरटहरा बनाएर बसोबास गर्दै आएका बस्तीमा पानी पसेको हो । खोला आसपासमा अव्यवस्थित रूपमा निर्माण गरिएका घरटहरा तथा अस्थायी संरचना बाढीको जोखिममा परेका छन् । केही स्थानमा बाढीको पानी बस्तीभित्र पसेपछि स्थानीयमा त्रास उत्पन्न भएको थियो ।

सरकारले मनोहरा खोलाको किनारमा रहेको सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको भए पनि निजी जग्गा भाडामा लिएर तथा अन्य क्षेत्रमा घरटहरा बनाएर बसोबास गर्नेहरू अझै रहेका छन् । यस्ता बस्तीहरू वर्षायाममा खोलाको बहाव बढ्दा बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । यसैबीच, अहिले भने मनोहरा खोलामा पानीको सतह केही घटेको प्रहरीले जनाएको छ । तर वर्षा पुनः बढेमा खोलाको बहाव फेरि बढ्न सक्ने भएकाले खोला आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्