कृष्णभीर सडकखण्ड दुई–तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीर क्षेत्रमा यातायात चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ ।

सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरेर काम तीव्र पारिएको अधिकारीले बताइन् । शनिबार कटिङको काम लगभग सम्पन्न भएपछि अहिले ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन् ।

ग्रेड सुधारको काम पूरा भएपछि थप रोलर परिचालन गरी सडकमा रोलिङ गरिनेछ । त्यसपछि सबग्रेड तयार गरेर ग्राभेल बिछ्याउने काम अघि बढाइने योजना कार्यालयले जनाएको छ ।

अधिकारीका अनुसार सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ । त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले बताइन् ।

त्रिशूली बाढीपछि कृष्णभीर क्षेत्रमा पहिरो जाँदा सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकको पुरानो संरचना तत्काल सञ्चालन गर्न कठिन भएपछि सडक योजना कार्यालयले भासिएको सडकको भित्तातर्फबाट वैकल्पिक नयाँ ट्रयाक निर्माण गरी यातायात सञ्चालन गर्ने काम अघि बढाएको हो ।

सडक अवरुद्ध हुँदा नागढुङ्गा–मुग्लिङ हुँदै राजधानी आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुँदै आएका छन् । नयाँ ट्रयाकमा आवश्यक ग्रेड सुधार, सबग्रेड निर्माण र ग्राभेल बिछ्याउने काम सकेर सकेसम्म छिटो यातायात सञ्चालनमा ल्याउने योजना कार्यालयको तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्