काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित क्षेत्रमा हजारौँ घरधुरी तथा ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्।
राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कका आधारमा प्राधिकरणले तयार पारेको विवरणअनुसार यी पाँच जिल्लाका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र २ लाख ४ हजार ६०१ जनसङ्ख्या रहेको छ। बाढीका कारण प्रभावित क्षेत्रमा १६ हजार ११० घरधुरीका ६४ हजार ३३५ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्रत्यक्ष रूपमा बाढीबाट प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला रहेको प्रतिवेदनमा उल्लेख छ।
रसुवामा चार स्थानीय तह प्रभावित
रसुवामा चार स्थानीय तहका १६ वटा वडा बाढीबाट प्रभावित भएका छन्। गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ मा बाढीका कारण १ हजार ३०३ घर तथा भवन क्षतिग्रस्त भएका छन्। ती क्षेत्रमा रहेका १ हजार ४४४ घरधुरीका ५ हजार ७४३ जना प्रभावित भएका छन्।
कालिका गाउँपालिका–१ मा ११४ भवन क्षतिग्रस्त हुँदा ११९ घरधुरीका ४९१ जना प्रभावित भएका छन्। आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. १, २, ४ र ५ मा ७६ भवन क्षतिग्रस्त भएका छन् भने ७७ घरधुरीका ३१३ जना प्रभावित भएका छन्।
उत्तरगया गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ पनि प्रभावित भएका छन्। यहाँ बाढीका कारण ६६५ भवन क्षतिग्रस्त भएका छन् भने ६९६ घरधुरीका २ हजार ७१९ जना प्रभावित भएका छन्।
नुवाकोटमा सबैभन्दा बढी क्षति
नुवाकोटमा चार स्थानीय तहका २१ वटा वडा बाढीबाट प्रभावित भएका छन्। बेलकोटगढी नगरपालिका–५, ७ र ८ मा बाढीका कारण १ हजार ८३ भवन क्षतिग्रस्त भएका छन्। ती क्षेत्रमा १ हजार १२७ घरधुरीका ४ हजार ४८३ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ।
विदुर नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ बाढीबाट प्रभावित भएका छन्। यहाँ ५ हजार २२८ भवनमा क्षति पुगेको छ भने ५ हजार ९२८ घरधुरीका २३ हजार २३० जना प्रभावित भएका छन्। प्रभावित स्थानीय तहमध्ये विदुर नगरपालिकामा घरधुरी तथा जनसङ्ख्याको हिसाबले ठूलो प्रभाव परेको देखिएको छ।
किस्पाङ गाउँपालिका–५ मा बाढीका कारण ९०६ भवनमा क्षति पुगेको छ। यहाँ ९३९ घरधुरीका ३ हजार ३८२ जना प्रभावित भएका छन्। त्यस्तै तारकेश्वर गाउँपालिका–२ र ४ मा १७८ भवनमा क्षति पुगेको छ भने १८५ घरधुरीका ६६५ जना प्रभावित भएका छन्।
धादिङका चार स्थानीय तह प्रभावित
धादिङमा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन्। बेनीघाट रोराङ गाउँपालिकाका वडा नं. ३, ५, ७, ९ र १० प्रभावित भएका छन्। करिडोर तथा बफर क्षेत्रमा पर्ने यहाँका अनुमानित १ हजार ७२३ भवनमा क्षति पुगेको छ भने १ हजार ९०५ घरधुरीका ८ हजार ६८ जना प्रभावित भएका छन्।
गजुरी गाउँपालिका–१, २, ५ र ६ मा क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र १ हजार ५८९ जना रहेका छन्। गल्छी गाउँपालिकाका वडा नं. १, २, ४, ६ र ८ मा ७६६ भवन, ८४० घरधुरी र ३ हजार ३६३ जना प्रभावित भएका छन्।
त्यस्तै सिद्धलेक गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ मा अनुमानित ७५८ भवनमा क्षति पुगेको छ। उक्त क्षेत्रमा ७८१ घरधुरीका ३ हजार १७० जना प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
गोरखाका दुई स्थानीय तह प्रभावित
गोरखामा दुई स्थानीय तहका १० वटा वडा बाढीबाट प्रभावित भएका छन्। गण्डकी गाउँपालिकाका वडा नं. १, २, ६, ७ र ८ मा क्षति पुगेको क्षेत्रमा ५९३ भवन, ६१७ घरधुरी र २ हजार ४७८ जना रहेका छन्।
सहिद लखन गाउँपालिकाका वडा नं. ३ र ४ प्रभावित भएका छन्। यहाँ क्षति पुगेको क्षेत्रमा १३८ भवन रहेका छन् भने १४६ घरधुरीका ५५१ जना प्रभावित भएको प्राधिकरणले जनाएको छ।
चितवनमा पनि बाढीको प्रभाव
चितवनको इच्छाकामना गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ बाढीबाट प्रभावित भएका छन्। करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवनमा क्षति पुगेको छ। उक्त क्षेत्रमा रहेका ९१० घरधुरीका ४ हजार ९० जना प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन, प्रभावित परिवारको पहिचान तथा राहत, उद्धार र पुनःस्थापनाका कामलाई निरन्तरता दिइरहेको जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लामा ठूलो संख्यामा घर, पूर्वाधार तथा जनजीवन प्रभावित भएकाले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माण आवश्यक देखिएको छ।




