उद्योगमन्त्रीमा दीपक कुमार साह नियुक्त,पद तथा गोपनीयताको शपथ

काठमाडौँ । दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री साहले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार दिउँसो पदबाट राजीनामा दिनुभएपछि प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्नुभएको हो।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। साह सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

पेसाले इन्जिनियर रहनुभएका ५० वर्षीय साहले ऊर्जा क्षेत्रका साथै समुदाय सशक्तीकरणका क्षेत्रमा समेत काम गर्दै आउनुभएको बताइएको छ। उहाँ सुनसरीको भोक्रा नरसिङ गाउँपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ।

साहको नियुक्तिसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल तेस्रोपटक पुनर्गठन भएको छ। २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि २०८३ चैत १३ गते प्रधानमन्त्री शाहको नेतृत्वमा मन्त्रिमण्डल गठन भएको थियो।

त्यसपछि गृहमन्त्रीको राजीनामा तथा तत्कालीन श्रम तथा रोजगारमन्त्री पदमुक्त भएपछि २०८३ वैशाख ३१ गते पहिलोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो। त्यसैगरी, २०८३ जेठ २६ गते गृहमन्त्रीमा सुधन गुरुङ र वित्त, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त भएसँगै दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो।

अब उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नियुक्तिसँगै प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद् तेस्रोपटक पुनर्गठन भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्