काठमाडौँ । नेपाल ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ ओभर १ बलमा ६० रनमै अलआउट भयो। ओमानका जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजवंशी र रोहितकुमार पौडेलले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४५ ओभर ४ बलमा १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोडे। देव खनालले १३ तथा मोहम्मद आसिफले ११ रन बनाए। ओमानका जय विराम ओडेडरा र हसनैन शाहले नेपालका ३-३ विकेट लिए। अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
हङकङले दिएको ७१ रनको लक्ष्य यूएईले ११ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। यूएईका तनिश सुरीले २७ रन बनाए। हङकङका एहसान खान, किन्चित शाह र कप्तान यासिम मुर्तजाले १-१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङ ३० ओभर १ बलमा ७० रनमै अलआउट भएको थियो। हङकङका जिशन अलीले सर्वाधिक १७ रन बनाए। यूएईका हैदर अलीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए।
एसीसी प्रिमियर कपको उपाधि जित्ने टोली एशिया कपका लागि छनोट हुनेछ। यस्तै फाइनलमा पुग्ने दुई टोलीसँगै तेस्रो स्थानमा रहने टोली पनि इमर्जिङ टिम्स एशिया कपका लागि छनोट हुने व्यवस्था रहेको छ।




