काठमाडौं – नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । टेलिकमले संस्थागत रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो । बुधबार आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो । यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोगसमेत हस्तान्तरण भइसकेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई टेलिकमले बाढीपछि नै करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका तटीय क्षेत्र प्रभावित भएका थिए । सरकारले प्रभावितको राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वानसमेत गरेको छ । नेपाल टेलिकमले विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।



