हर्मुज जलमार्गमा अमेरिका-इरानबीच ठूलो सैन्य झडप, तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौं – अमेरिका र इरानबीच युद्ध सुरु भएको करिब छ महिनापछि हर्मुज जलमार्ग क्षेत्रमा दुवै पक्षबीच समुद्री यातायातलाई लक्षित गरी अहिलेसम्मकै ठूलोमध्ये एक आक्रमण भएको छ । पछिल्लो झडपपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । रोयटर्सका अनुसार इरानले हर्मुज जलमार्ग क्षेत्रमा १० वटा पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । त्यसअघि अमेरिकी सेनाले इरानका पाँच वटा तेल ट्यांकर ध्वस्त पारेको थियो । यो घटनालाई युद्ध सुरु भएयताकै समुद्री क्षेत्रमा भएको सबैभन्दा ठूलो प्रत्यक्ष झडपमध्ये एक मानिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजिसी) ले अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट दुई पटक निशाना बनाएपछि जवाफी कारबाहीस्वरूप पाँच वटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरिएको हो । अमेरिकी सेनाले ती पानीजहाजका चालक दललाई पहिले नै जहाज छाड्न निर्देशन दिएको जनाएको छ ।

अमेरिकी सेनाले कारबाहीका क्रममा पाँच वटा इरानी तेलवाहक पानीजहाज ध्वस्त पारेको भिडियोसमेत सार्वजनिक गरेको छ । इरानले भने जवाफी कारबाहीमा दुई अमेरिकी पानीजहाजसहित आठ वटा तेल ट्यांकर गरी १० वटा पानीजहाजलाई निशाना बनाएको दाबी गरेको छ । अमेरिकी पक्षले भने आफ्ना पानीजहाजमा भएको आक्रमणको इरानी दाबी अस्वीकार गर्दै सबै प्रयास विफल भएको जनाएको छ । पछिल्लो घटनाले विश्वको ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा पानीजहाजको आवागमन थप प्रभावित भएको छ । यस क्षेत्रबाट युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गरेको थियो ।

समुद्री मार्गमा बढेको तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ, जुन गत जुलाईपछि पहिलोपटक हो । बिहीबार ब्रेन्ट करिब १०१ डलर प्रतिब्यारेल आसपास कारोबार भएको रोयटर्सले जनाएको छ । हर्मुज जलमार्गमा लामो समयसम्म आवागमन अवरुद्ध वा सीमित भए विश्वव्यापी ऊर्जा आपूर्ति, इन्धनको मूल्य र मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ । पछिल्लो सैन्य तनावले अमेरिका–इरान युद्ध थप चर्किने जोखिमसमेत बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्