काठमाडौं – खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पश्चिम एसियाको तनावबाट प्रभावित आपूर्ति शृङ्खला, त्यसपछि पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरो र वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा आपूर्ति प्रभावित भएको हो । यसअघि आपूर्ति व्यवस्थामा आएको समस्याका कारण नेपाल आयल निगमले फागुन २९ गतेदेखि उपभोक्तालाई ७.१ केजी अर्थात् आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था गरेको थियो । असार ३१ गतेदेखि पुनः पूर्ण सिलिन्डर वितरण गर्न थालिए पनि आपूर्ति समस्या पूर्ण रूपमा समाधान हुन सकेन ।
पछिल्लो समय भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति थप प्रभावित भएको हो । मुख्य राजमार्गबाट ग्यास बुलेट आउन नसकेपछि तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै उपत्यकामा ल्याउने व्यवस्था गरिएको छ । नेपाल आयल निगमका अनुसार बुधबार मात्रै २२ वटा ग्यास उद्योगले ४६ हजार ९ सय ७६ सिलिन्डर उपत्यकाका डिलरमार्फत बजारमा पठाएका थिए । त्यसअघिको दिन मंगलबार भने करिब १५ हजार ९ सय ९४ सिलिन्डर मात्र डिलरसम्म पुगेका थिए ।
‘निगमले आफ्नै ग्यास उद्योग खोल्नुपर्छ’
ग्यास आपूर्ति समस्याबारे बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा छलफल भएको थियो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगमध्ये कुनै पनि निगमको मातहतमा नरहेको उल्लेख गर्दै देशका लागि दुईवटा ग्यास उद्योग भए पर्याप्त हुने धारणा राख्नुभयो । मन्त्री यादवले उद्योगीहरूलाई पटक–पटक ग्यास आपूर्ति सहज बनाउन आग्रह गरिए पनि अपेक्षाअनुसार सहयोग नपाइएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “५८ वटा ग्यास उद्योगले तीन–तीन हजारका दरले हरेक दिन काठमाडौँमा सिलिन्डर पठाइदिएको भए आज यो स्थिति आउने थिएन ।”
उहाँका अनुसार काठमाडौँका लागि ठूलो परिमाणमा सिलिन्डर पठाइएको भनिए पनि बजारमा अपेक्षित मात्रामा नपुगेको अवस्था छ । सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर काठमाडौँका लागि पठाइएको भनिए पनि करिब १९–२० हजार मात्र बजारमा पुगेको उहाँको दाबी छ । मन्त्री यादवले ग्यास उद्योगसँग सम्बन्धित कानुन तथा नियम सुधारका क्रममा समेत कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गर्ने उद्योगमाथि आवश्यक कारबाही गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
मागअनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दाबी
यता नेपाल एलपी ग्यास उद्योग सङ्घले भने काठमाडौँ उपत्यकाको मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ । सङ्घका अनुसार उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहँदै आएको छ । बाढीका कारण कृष्णभिरमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौँ, काभ्रे तथा धादिङका उद्योगका खाली सिलिन्डर बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीका उद्योगमा पठाएर ग्यास भरी वैकल्पिक मार्गबाट उपत्यकामा ल्याउने व्यवस्था गरिएको छ ।
सङ्घका अध्यक्ष दिवान चन्दले आगामी दिनमा पनि बढीभन्दा बढी सिलिन्डर रिफिल गरी उपत्यकामा आपूर्ति सहज बनाउने प्रयास भइरहेको बताउनुभएको छ । सङ्घले उपभोक्तालाई ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्नसमेत आग्रह गरेको छ ।
हालको आपूर्ति समस्यामा मुख्य राजमार्ग अवरुद्ध हुनुका साथै वितरण व्यवस्थापन, उद्योगीको भूमिका र सरकारी नियमनसमेत जोडिएपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोपको अवस्था देखिएको छ । दीर्घकालीन रूपमा आपूर्ति प्रणालीलाई स्थिर र भरपर्दो बनाउन सरकारमाथि थप दबाब परेको छ ।



