काठमाडौँ – इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलमा १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको हो । माग गरिएकामध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन् । इच्छुक उम्मेदवारले आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको FERMS प्रणालीमार्फत दिन सकिनेछ । छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा (NIS) तलब पाउनेछन् । इजरायली सरकारको नियमअनुसार कामदारले ओभरटाइम सुविधा समेत प्राप्त गर्ने सूचनामा उल्लेख छ ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायलको प्रचलित कानुनअनुसार उपलब्ध हुने विभागले जनाएको छ । कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बस्ने व्यवस्था भने कम्पनीले गर्नेछ । तर, बसोबासका लागि लाग्ने खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा रोजगारीका लागि ठूलो संख्यामा आवेदन खुलेपछि इच्छुक नेपाली कामदारका लागि रोजगारीको अवसर सिर्जना भएको छ ।



