काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि स्वास्थ्य बीमा सेवा थप सहज बनाएको छ । विपद्का कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा समेत बीमितले स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता पवन साहले जानकारी दिनुभएको छ । बोर्डले सोमबार सूचना जारी गर्दै प्रभावित तीन जिल्लाका नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको जनाएको छ । विपद्का कारण उपचार आवश्यक पर्ने नागरिकलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा अन्तर्गत बहिरङ्ग सेवा (ओपीडी) तथा केही विशिष्ट प्रकारका उपचार र औषधिमा तोकिएको खर्चको सीमालाई ‘क्यापिङ’ भनिन्छ । बोर्डले प्रभावित जिल्लाका बीमितका लागि उक्त सीमा अस्थायी रूपमा हटाएपछि उपचार खर्च तोकिएको सीमाभन्दा बढी भए पनि बीमाबाटै कभर हुने व्यवस्था गरिएको छ । यसबाट उपचारका क्रममा बीमितले थप रकम व्यहोर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, स्वास्थ्य बीमा परिचयपत्र नभएका बीमितले पनि सेवा लिन सक्नेछन् । त्यस्ता बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ । भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङलाई सरकारले बाढी संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनुका साथै स्वास्थ्य संस्थासहित विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
विपद्को अवस्थामा प्रभावित नागरिकलाई उपचारका लागि आर्थिक तथा प्रशासनिक झन्झट नहोस् र आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले विशेष व्यवस्था गरेको हो । बोर्डले यस व्यवस्थाबाट प्रभावित क्षेत्रका बीमितलाई तत्काल आवश्यक स्वास्थ्य उपचार लिन थप सहज हुने विश्वास व्यक्त गरेको छ ।



