काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । गत भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै प्रत्येक वर्ष यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवाको अवस्था तथा अवसरमा देखिएको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो । आन्दोलनले तत्कालीन राजनीतिक तथा प्रशासनिक व्यवस्थामाथि युवापुस्ताको असन्तुष्टि सतहमा ल्याएको थियो ।
गत वर्ष भदौ २३ गते संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा भोलिपल्ट अर्थात् भदौ २४ गते देशका विभिन्न स्थानमा थप प्रदर्शन भएका थिए । त्यसक्रममा आन्दोलन झन् उग्र बनेको थियो ।
दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी तथा प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सरकारी तथा निजी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठानलगायत विभिन्न भौतिक संरचनामा आगजनी तथा तोडफोडसमेत भएको थियो । घटनाले ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याउनुका साथै मुलुकको राजनीतिक अवस्थामै महत्वपूर्ण प्रभाव पारेको थियो ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको सम्मानस्वरूप ‘जेनजी शहीद दिवस’ घोषणा गरेको हो । आजको दिन शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिँदैछ ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा उठाइएका सवाल, त्यसपछि भएका राजनीतिक तथा सामाजिक परिवर्तन र युवापुस्ताको अपेक्षाबारे समेत चर्चा भइरहेको छ । शहीद परिवार तथा आन्दोलनका घाइते र प्रभावितहरूको अवस्था, उनीहरूका माग तथा राज्यले गरेका प्रतिबद्धताको कार्यान्वयनलाई पनि यस अवसरमा महत्वपूर्ण रूपमा हेरिएको छ ।




