काठमाडौँ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध हुँदा खाना पकाउने ग्यासको आपूर्तिमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वैकल्पिक व्यवस्था अघि बढाएको छ । कर्पोरेशनले निजी ग्यास कम्पनीसँग सहकार्य गरी आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यकामा ल्याउन थालेको हो ।
गत आइतबार कृष्णभीरमा त्रिशूली नदीले कटान गर्दा पृथ्वीराजमार्ग अवरुद्ध भएपछि कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत असर परेको थियो । सडक अवरुद्ध भएपछि आफ्नै प्लान्टमा ग्यासका बुलेट ल्याउन सम्भव नभएपछि कर्पोरेशनले सहज स्थानमा रहेका निजी ग्यास कम्पनीका प्लान्टसँग सहकार्य गरेर खाली सिलिन्डरमा ग्यास भर्ने र वैकल्पिक मार्ग हुँदै उपत्यका भित्र्याउने व्यवस्था मिलाएको हो ।
कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले विषम प्राकृतिक विपद्को अवस्थामा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको बताए । उनका अनुसार पहिलो चरणमा निजी प्लान्टमा भरिएका एसटीसीका सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरिएको छ । कर्पोरेशनले आफ्नो प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी कम्पनीका प्लान्टतर्फ डाइभर्ट गरेको जनाएको छ ।
सीमित कोटाबीच चुस्त वितरण
नेपाल आयल निगमबाट कर्पोरेशनले प्राप्त गर्ने ग्यासको कोटा सीमित भएकाले मागअनुसार पर्याप्त ग्यास बिक्री गर्न चुनौती रहेको जनाएको छ । निगमले भारतीय आयल कर्पोरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा त्यसको करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा पर्ने गरेको छ ।
कर्पोरेशनका अनुसार हाल मासिक करिब ५५ हजारदेखि ६० हजार एसटीसी सिलिन्डर खपत हुँदै आएको छ । सीमित कोटाका बाबजुद उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन कर्पोरेशनले कुपन प्रणालीमार्फत बिक्री वितरण गर्दै आएको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले कुपन वितरणकै समयमा उपभोक्तालाई ग्यास प्राप्त गर्ने दिनसमेत सुनिश्चित गरिने बताए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थिति, ग्यास आपूर्तिमा देखिएको समस्या तथा पृथ्वीराजमार्ग अवरुद्ध हुँदा निजी क्षेत्रका ग्यास कम्पनीको आपूर्तिमा समेत असर परेको अवस्थामा सरकारी स्वामित्वको संस्थाले वैकल्पिक आपूर्ति प्रणाली अपनाएको हो ।
छ महिनालाई पुग्ने नुन मौज्दात
ग्यास आपूर्तिसँगै साल्ट ट्रेडिङले अत्यावश्यक वस्तुका रूपमा रहेको आयोडिनयुक्त नुनको मौज्दातलाई समेत प्राथमिकतामा राखेको छ । कर्पोरेशनले देशभरको मागलाई ध्यानमा राख्दै करिब छ महिनालाई पुग्ने नुनको मौज्दात रहेको जनाएको छ ।
कर्पोरेशनका अनुसार भदौ १७ गतेसम्म संस्थासँग १ लाख २७ हजार ३६१ मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको थियो । नेपालमा वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ । गत आर्थिक वर्षमा कर्पोरेशनले करिब २ लाख १० हजार टन नुन बिक्री वितरण गरेको जनाएको छ ।
आयोडिन शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्व भएकाले यसको नियमित सेवनलाई सरकारले समेत प्राथमिकता दिँदै आएको छ । विपद् वा आपत्कालीन अवस्थामा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति अवरुद्ध हुन नदिन पर्याप्त मौज्दात राख्नुपर्ने आवश्यकता अझ महत्वपूर्ण हुने कर्पोरेशनको भनाइ छ ।
उपभोक्तावादीहरूले समेत नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई सरकारको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने बताउँदै आएका छन् । विपद्का समयमा निजी क्षेत्रको आपूर्ति प्रणाली प्रभावित हुन सक्ने भएकाले सार्वजनिक संस्थाले अत्यावश्यक वस्तुको निरन्तर आपूर्ति सुनिश्चित गर्नुपर्ने उनीहरूको तर्क छ ।
चिनीमा पनि बजार हस्तक्षेप
यसैबीच साल्ट ट्रेडिङले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला बजार हस्तक्षेपलाई समेत तीव्र बनाएको छ । निजी क्षेत्रबाट प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेको चिनी कर्पोरेशनले १०० रुपैयाँमा बिक्री वितरण गरिरहेको जनाएको छ ।
कर्पोरेशनका अनुसार भदौ ९ गते मात्रै ६०० टन चिनी आयात गरिएको थियो । हालसम्म करिब तीन हजार टन चिनी बजारमा पठाइसकिएको कर्पोरेशनले जनाएको छ । सरकारको नीतिअनुसार उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराएर बजारमा मूल्य सन्तुलन कायम गर्ने प्रयास भइरहेको छ ।
चामल, दाल, गेडागुडी, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा दबाब बढिरहेका बेला कर्पोरेशनले आफूले बिक्री गर्दै आएका खाद्यान्नको मूल्यलाई सकेसम्म स्थिर राख्ने प्रयास गरिरहेको जनाएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत झाले सरकारी–निजी स्वामित्वको कर्पोरेशनको मुख्य उद्देश्य नाफा कमाउनु मात्र नभई असहज तथा विपद्को अवस्थामा समेत नागरिकलाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु रहेको बताए । उनका अनुसार विपद्का बेला बजारमा आपूर्ति तथा मूल्यको दबाब बढ्ने भएकाले सार्वजनिक संस्थाको भूमिका अझ महत्वपूर्ण हुने गरेको छ ।



