एनपीएलको प्रसारण र टिकटिङ अधिकार साढे ३३ करोडभन्दा बढीमा बिक्री

Photo: Kantipur

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार साढे ३३ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बोलपत्र तथा खरिद प्रक्रियामार्फत एनपीएलको विभिन्न अधिकार बिक्री गरेको हो। क्यानका अनुसार एनपीएलको विश्वव्यापी ओटीटी प्रसारण अधिकार नेट टिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ।

त्यस्तै, नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा प्राप्त गरेको छ। अघिल्लो संस्करणको तुलनामा यसपटक प्रसारण अधिकारको मूल्य उल्लेख्य रूपमा बढेको छ। एनपीएलको टिकटिङ अधिकार भने ई–सेवा लिमिटेडले ८५ लाख रुपैयाँमा पाएको छ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत ई–सेवाले प्राप्त गर्नेछन्।

ओटीटी प्लेटफर्मले नेपालभित्र करसहित अधिकतम ४०० रुपैयाँ, खाडी मुलुकबाट ६०० रुपैयाँ र अन्य देशबाट अधिकतम १० अमेरिकी डलरसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ। एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ।

क्यानले एनपीएलको तेस्रो संस्करणलाई थप सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्