भक्तपुर- नेसनल प्याब्सन भक्तपुरको बोर्ड कार्यक्रम सदस्य विद्यालय प्रसादि पाठशालाको आयोजनामा जिल्ला स्तरीय अन्तरविद्यालय वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच तथा वक्तृत्वकलाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न सदस्य विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताअन्तर्गत कक्षा ७ तर्फ ‘विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता’ विषयमा वादविवाद गराइएको थियो । उक्त प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी आरूषी महतो प्रथम, मदरल्याण्ड स्कुलकी दिपीका कार्की द्वितीय, आरक्षण नेसनल स्कुलकी यूनिशा खत्री तृतीय र विमल मेमोरियल विद्यापीठकी प्रिन्शा देउजा सान्त्वना स्थान हासिल गर्न सफल भए । त्यस्तै, कक्षा ६ तर्फ ‘एआईले विद्यार्थीको सिकाइलाई सहज बनाउँछ कि अल्छी?’ विषयमा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा ईडेन गार्डेन स्कुलकी विश्रुति सापकोटा प्रथम, यूनिटी स्कुलका हिमांशु भट्ट द्वितीय, मदरल्याण्ड स्कुलकी कृष्टिका भण्डारी तृतीय तथा विमल मेमोरियल विद्यापीठकी भूमिका जिरेल सान्त्वना स्थानमा पुरस्कृत भए ।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सदस्य विद्यालयबीच आयोजना गरिएको यस्ता प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता, तार्किक विश्लेषण तथा वाककलाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कार्यक्रमको आयोजना तथा व्यवस्थापन गरेको प्रसादि पाठशालाप्रति आभार व्यक्त गरे ।
प्रतियोगिताका निर्णायकमा वरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्रप्रसाद घिमिरे रहेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले अनुशासन, स्वतन्त्रता, कृत्रिम बुद्धिमत्ता र शिक्षामा यसको प्रयोगजस्ता समसामयिक विषयमा पक्ष–विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । नेसनल प्याब्सन भक्तपुरका सहसचिव एवं प्रसादि पाठशालाका प्रिन्सिपल दिनेश शाक्यले आफ्नो विद्यालयलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी प्रदान गरेकोमा नेसनल प्याब्सन भक्तपुरप्रति धन्यवाद व्यक्त गरे । उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुति क्षमता र नेतृत्व सीप विकास गर्न सहयोग पुग्ने बताए ।



