भट्टार पहिरोपीडितको राहत र पुनःस्थापनाका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दार्चुला – अपिहिमाल गाउँपालिका–१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ। यस विषयमा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरासहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापना तथा सुरक्षित बसोबासको व्यवस्था गर्न आवश्यक पहल गर्न आग्रह गरिएको छ। पहिरोका कारण क्षतिग्रस्त पदमार्ग लगायतका स्थानीय संरचनाको पुनर्निर्माण गर्नुपर्ने तथा भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना र कार्यक्रम सञ्चालन गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।

गाउँपालिका अध्यक्ष बोहराका अनुसार मुख्यमन्त्री भट्टले प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका विषयमा प्रदेश सरकारले गर्न सक्ने आवश्यक सहयोग तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोगका लागि निर्देशनसमेत दिने बताउनुभएको बोहराले जानकारी दिनुभयो।

पहिरोका कारण भट्टार बस्तीमा स्थानीयवासी प्रभावित हुनुका साथै आवतजावतका लागि प्रयोग हुने पदमार्ग तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यक्रम आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रभावित परिवारको सुरक्षित पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्