काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ। कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। त्यस्तै, बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
राहत कोषमा योगदानका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायब उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले ७ दिनको, वरिष्ठ हवल्दारदेखि जवानसम्मले ५ दिनको तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलबबराबरको रकम योगदान गर्नेछन्। तर, बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको तलबबाट भने रकम कट्टा नगरिने भएको छ।
बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट १५ लाख, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला–आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम ५ लाख र ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम ५ लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ। यसका साथै मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने निर्णय गरिएको छ। मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णयसमेत भएको छ।
बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। त्यस्तै, बाढीमा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनका तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय गरिएको छ। मृतक कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ। सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
यसैगरी, बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख रुपैयाँ, घरबारविहीन भएमा १ लाख रुपैयाँ तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।



