दार्चुलाको अपिहिमालमा पहिरो, चौलानी नदी थुनिन सक्ने जोखिम

दार्चुला – अपिहिमाल गाउँपालिका-२ भट्टार क्षेत्रमा पहिरो जाँदा चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदीको केही भाग पुरिएको र माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा भएको क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन। घटनास्थलको अवस्थाबारे जानकारी लिन प्रहरी टोली त्यसतर्फ पठाइएको छ । ‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले भने।

पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएकाले नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ। नदीमा माथिबाट आएको पहिरोले केही भाग पुरिएकाले पानीको बहाव अवरुद्ध भई नदी थुनिन सक्ने र एक्कासि फुट्न सक्ने सम्भावनासमेत रहेको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदी आसपास तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी थुनिएर अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम निम्तिन सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन प्रशासनले आग्रह गरेको हो।

प्रशासनले नदीको बहावमा आएको परिवर्तनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। साथै, नदी किनारका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे जानकारी गराउने तथा आवश्यक सतर्कता अपनाउन सचेत गराउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव असामान्य देखिएमा तथा थप पहिरो गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनसमेत आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्