काठमाडौं । मुस्ताङस्थित भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाटै जाँचपास गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङको कोरला नाकाबाट भित्रिने मालवस्तुलाई चोभारसम्म ल्याएर जाँचपास गर्न सकिने गरी सडक मार्ग तोकेसँगै यस्तो सुविधा उपलब्ध भएको हो। यससँगै कोरला नाकाबाट नेपाल भित्रिएका सामान मुस्ताङ भन्सारमा जाँचपास नगरी तोकिएको रुट हुँदै काठमाडौं ल्याउन सकिने भएको छ।
विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्मका लागि आन्तरिक परिवहनको सुविधा प्रदान गर्ने निर्णय गरिएको हो। मालबाहक सवारी साधनका लागि कोरला नाकाबाट प्रवेश गरेपछि नेचुङ–छुसाङ–कागबेनी-जोमसोम-बेनी-कुश्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने रुट तोकिएको छ।
तोकिएको रुटमा कुनै समस्या आएमा वैकल्पिक मार्गसमेत निर्धारण गरिएको छ। त्यस अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौंडा-भैंसे-नौबिसे-कलंकी-चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन्। त्यसैगरी, गुडाएर लैजानुपर्ने नयाँ सवारी साधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
रसुवागढी नाका पछिल्लो समय आएको ठूलो बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। कोरला नाकाबाट भित्रिने सामानलाई काठमाडौंमै ल्याएर जाँचपास गर्ने व्यवस्था भएपछि व्यवसायी तथा आयातकर्तालाई थप सहज हुने अपेक्षा गरिएको छ।



