संखुवासभा – संखुवासभाको मकालु गाउँपालिका-१ चिर्खाङमा एक शिक्षकको गोली हानी हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
प्रहरीका अनुसार राईमाथि गएराति करिब ७ बजे भरुवा बन्दुकबाट गोली प्रहार भएको थियो। गोली लागेर उनको देब्रे कोखमा चोट लागेको र रगत बगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। राई कालिका माध्यमिक विद्यालयमा बस्दै आएका थिए। उनी खाना खाएर हात धुन बाहिर निस्किएका बेला विद्यालय नजिकैबाट गोली प्रहार भएको बताइएको छ। गोलीको आवाजसँगै राई ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईले प्रहरीलाई जानकारी दिएकी छन्।
प्रहरीका अनुसार घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुकबाट कसले र के कारणले गोली चलाएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।



