त्रिशूली-३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका व्यक्ति सञ्जय साह रहेको बताइएको छ। साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला उनी पनि सोही कामका लागि आयोजनास्थल पुगेको बताइएको छ। खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङबाट थप एक जनाको जीवितै उद्धार गरिएको हो। योसँगै सुरुङभित्रबाट जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ।

यसअघि पनि उद्धार टोलीले सुरुङभित्रबाट एक जनालाई जीवितै बाहिर निकालेको थियो। बाढीका कारण सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्था यकिन हुन नसकेको भन्दै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

आज बिहानै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका थिए। त्यसपछि उद्धार टोलीले सुरुङभित्रको खोजीलाई थप तीव्र बनाएको थियो। अहिले पनि सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा टोली परिचालन भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्