काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा १० वटा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्णरूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै, काठमाडौंको चन्द्रागिरीस्थित काठमाडौं–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
रसुवामा उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा वेत्रावती नगरपालिका–स्थित पासाङल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। यी सडकखण्ड अर्को सूचना जारी नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ।
त्यस्तै, नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण शिवपुरी गाउँपालिका–८ स्थित टोखा–छहरे सडकखण्ड र रसुवा जाने मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
धादिङमा पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्ग तथा गजुरी गाउँपालिका–२ को परेवाभीर क्षेत्र पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, लुम्बिनी प्रदेशको रोल्पामा माडी गाउँपालिका–३ स्थित शहीदमार्ग, कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ स्थित मुगु–गमगढी सडक तथा सुदूरपश्चिम प्रदेशको बैतडीमा दशरथचन्द नगरपालिका-८ स्थित गोठालापानी–झुलाघाट सडकखण्ड पनि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रयास भइरहेको छ। बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।



