राष्ट्रिय शोकको घडीमा राजनीति नगर्न ओलीको आग्रह

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिका कारण देश पीडामा रहेका बेला कुनै पनि पक्षले राजनीति गर्न नहुने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रसुवाको बाढीपहिरोबाट भएको क्षतिबारे तयार पारिएको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले अहिलेको अवस्था राष्ट्रिय शोक र पीडाको विषय भएकाले सबै पक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विपद्लाई साझा दायित्वका रूपमा लिएर नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सबै राजनीतिक दल, सङ्घ–संस्था, समाजसेवी तथा परोपकारी निकाय एकीकृत रूपमा परिचालन हुनुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै राज्यकोषलाई नागरिकको जीवनरक्षा, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला नागरिक मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन । यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो ।’

विपद्को कठिन अवस्थामा सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनुपर्ने उहाँको भनाइ थियो। यसअघि एमाले महासचिव शङ्कर पोखरेलले रसुवाको बाढीपहिरोबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा स्थलगत अनुगमनबाट प्राप्त विवरण समेटिएको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउनुभएको थियो। प्रतिवेदनमार्फत प्रभावित क्षेत्रको वास्तविक अवस्था, भएको क्षति तथा तत्काल आवश्यक राहत, उद्धार र पुनर्निर्माणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्