‘अर्नब’ चक्रवातको प्रभाव: वर्षा र बाढीको जोखिम बढ्यो, प्रमुख राजमार्गमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । आज दिनभरजसो देशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा गएरातिदेखि पानी पर्ने र रोकिने क्रम जारी छ । अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । मौसमविद्का अनुसार आज राति वर्षाको क्रम थप बढ्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

वर्षा बढेसँगै नदी तथा खोलामा बाढी आउनुका साथै पहाडी र तराई क्षेत्रमा डुबानको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी तथा आसपासका क्षेत्रमा पानीको सतह उल्लेख्य बढ्न सक्ने अनुमान छ । भोलि पनि यी नदीका जलाधार क्षेत्रमा वर्षा हुने र केही स्थानमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । यसैगरी, पहाडी तथा भिरालो भूभाग भएका सडक खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने र सडक भासिने जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

विशेषगरी नारायणगढ–मुग्लिन सडक खण्ड, कोशी तथा सिद्धार्थ राजमार्गका पहिरो जोखिमयुक्त क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग र बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्डमा जोखिम बढी रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ । नदी किनारका सडकमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि केन्द्रले आग्रह गरेको छ । सडक डिभिजन भरतपुर, चितवनले समेत मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएको छ । उक्त सडक हुँदै यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सुरक्षा निकायसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बेलुकादेखि चक्रवात ‘अर्नब’ को प्रभाव कमजोर हुँदै जानेछ । त्यससँगै वर्षाको गतिविधि पनि क्रमशः कम हुने अनुमान छ । चक्रवातको प्रभाव घट्दै गए पनि स्थानीय मौसमको अवस्थाबारे आधिकारिक सूचनामा अद्यावधिक रहन मौसमविद् डेभिड ढकालले आग्रह गर्नुभएको छ । पर्सि आइतवारदेखि भने मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्