भारतबाट नेपाललाई थप ११ टन राहत, उद्धार विशेषज्ञदेखि बेली ब्रिजसम्म सहयोग

काठमाडौं । भारतले बाढीपहिरोबाट प्रभावित नेपालको खोजी, उद्धार तथा राहत कार्यमा थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री, प्राविधिक टोली तथा उद्धार उपकरणसहित भारतबाट चौथो खेपको सहायता नेपालतर्फ पठाइएको हो। भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ उद्धारमा दक्ष प्राविधिक टोली नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ।

त्यस्तै, बाढीपहिरोमा ज्यान गुमाएकाको पहिचानका लागि आवश्यक डीएनए विश्लेषण उपकरणसहित फरेन्सिक विशेषज्ञको टोली समेत नेपाल आएको छ। भारतले पठाएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइका सामग्री लगायत रहेका छन्। योसँगै भारतबाट नेपालमा हवाईमार्फत पठाइएको राहत सामग्रीको कुल मात्रा ६८.५ टन पुगेको जनाइएको छ। यसअघि भारतले अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण नेपाल पठाएको थियो।

सडक र पुल पुनःनिर्माणमा पनि भारतको सहयोग

बाढीपहिरोका कारण विभिन्न सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन भारतले संरचनागत सहयोगसमेत अघि बढाएको छ।विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्। त्यसैगरी, थप ७ वटा बेली ब्रिजका उपकरण तथा ती जडान गर्ने प्राविधिक टोली पनि नेपाल पठाउने तयारी गरिएको छ।

भारतले विपद्को कठिन समयमा नेपालका उद्धार तथा राहत प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। खोजी तथा उद्धार, मृतकको पहिचान, राहत वितरण तथा क्षतिग्रस्त भौतिक संरचना पुनः सञ्चालनमा भारतीय सहयोगले प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्