बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताहरूको समर्थनमा थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसअनुसार थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तर, नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पार्टीले सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ। पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट सरकार गठनका लागि समर्थन गर्ने निर्णय गरिएको भन्दै राप्रपा केन्द्रले त्यसप्रति असहमति जनाएको थियो।

राप्रपा केन्द्रले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। यद्यपि, प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री नियुक्ति तथा शपथ कार्यक्रम तय गरिएको जानकारी गराएको थियो। किरण थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बनेका छन्। प्रदेश गठनपछि पहिलो कार्यकालमा नेकपा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसबाट बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए।

थापाको नियुक्तिसँगै बागमती प्रदेशमा सत्ता समीकरण फेरिएको छ। नयाँ सरकारले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्