कतार एयरवेजले नेपाली महिलालाई २ करोड ६१ लाख क्षतिपूर्ति दिनुपर्ने गरी फैसला

काठमाडौं । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका-२ की थापाको पक्षमा फैसला सुनाएको हो।

सन् २०२३ जुलाई १० मा अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एयरवेजको उडान नम्बर QR 744 मा थापामाथि तातो कफी पोखिएको थियो। उडानका क्रममा क्याबिन क्रुले दिएको कफी थापाको तिघ्रा तथा शरीरका संवेदनशील अंगमा पोखिएपछि उनलाई दोस्रो तहको जलन भएको थियो।

थापाले विमानभित्र प्राथमिक उपचारको उचित व्यवस्था नभएको, अत्यधिक तातो कफी सर्भ गरिएको तथा कर्मचारीको लापरबाहीका कारण आफूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको भन्दै क्षतिपूर्तिको मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी मोन्ट्रियल महासन्धि, १९९९ तथा नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ लाई फैसलाको प्रमुख आधार बनाएको छ। महासन्धिको धारा १७ र २१ अनुसार विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोट पुगेमा त्यसको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने अदालतको ठहर छ।

अदालतका अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य तथा सुरक्षा मापदण्डअनुसार पिउन योग्य कफीको तापक्रम ६५ डिग्री सेल्सियसभन्दा कम हुनुपर्नेमा कतार एयरवेजले ७० देखि ८० डिग्री सेल्सियससम्मको तातो कफी सर्भ गरेको स्वीकार गरेको थियो। कफीको कपमा बिर्को नलगाइएको र यात्रुको सुरक्षाका लागि आवश्यक सावधानीका संकेतसमेत नअपनाइएको भन्दै अदालतले सेवामा लापरबाही भएको ठहर गरेको छ।

कतार एयरवेजको जिकिर अस्वीकार

कतार एयरवेजले यात्रु आफैँले कफी पोखाएको र घटनामा आफ्ना कर्मचारीको कुनै गल्ती नभएको जिकिर गरेको थियो। तर, अदालतले विमानभित्र यात्रुलाई हुने यस्तो दुर्घटनामा विमान कम्पनीको दायित्व रहने भन्दै कम्पनीको जिकिर अस्वीकार गरेको छ।

अदालतले कम्पनीले आफ्ना कर्मचारीबाट कुनै गल्ती नभएको प्रमाणित गर्न नसकेकोसमेत उल्लेख गरेको छ।

उपभोक्ता अदालत गठन भएपछि भएको यो फैसला ठूलो बिगोको क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धिको व्याख्याका दृष्टिले महत्वपूर्ण फैसलाका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्