एलपी ग्यासको अभाव चर्किएपछि काठमाडौंका पाँच स्थानबाट बिक्री, उपभोक्ताको भीड

 

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यासको बिक्री तथा वितरण सुरु गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो।

निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ। बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ।

ग्यास लिन बिहानैदेखि तोकिएका केन्द्रहरूमा सर्वसाधारणको लामो भीड लागेको छ। निगमले विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरे पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।

बबरमहलस्थित वितरण केन्द्रमा ग्यास लिन पुगेका उपभोक्ताले लामो समयसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन्। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन्।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच, खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने निगमको सूचनाको समेत व्यापक विरोध भएको छ। निगमले जारी गरेको सूचनामा ग्यास लिन उपभोक्ता आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित उपस्थित हुनुपर्ने उल्लेख गरेको छ।

घर नजिकैको डिपोबाट सहज रूपमा पाउनुपर्ने अत्यावश्यक वस्तुका लागि उपभोक्ताले खाली सिलिन्डर बोकेर निगमले तोकेको स्थानसम्म पुग्नुपर्ने र त्यसमाथि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उपभोक्ताले असन्तुष्टि जनाएका छन्। कतिपय उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र नभए खाना पकाउने ग्याससमेत नपाउने अवस्था आउन सक्ने भन्दै प्रश्न उठाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्