काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। सुकेधारामा हिजोदेखि सुरु भएको भेलाको उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसलाई एकताबद्ध बनाउने दाबी गरेका छन्।
करिब पाँच महिनापछि स्वदेश फर्किनुभएका देउवा प्रमुख अतिथिका रूपमा भेलामा सहभागी हुनुभएको थियो। सम्बोधनका क्रममा उहाँले कांग्रेस एकताबद्ध हुने दाबी गर्दै पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।
लामो इतिहास बोकेको कांग्रेसभित्र चरम विवाद उत्पन्न भएको उल्लेख गर्दै देउवाले विशेष महाधिवेशनबाट पार्टीको विधि र विधान मिचिएको दाबी गर्नुभयो। यस विषयमा सर्वोच्च अदालतबाट न्याय हुनेमा आफू पूर्ण विश्वस्त रहेको उहाँले बताउनुभयो।
आफ्नो नेतृत्वमा सबैको न्याय हुने दाबी गर्दै देउवाले भावनाको कदर गर्दै पार्टीलाई अघि बढाउन आग्रह गर्नुभयो। उहाँले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमति निर्माण गर्न पहल गर्ने बताउनुभयो।
भेलाका संयोजक एवं कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अन्य दलसमेत एकताबद्ध हुने दाबी गर्नुभयो।
नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको बताउँदै अब पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
भेलामा सहभागी नेताहरूले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन्। पुस अन्तिम साता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता–कार्यकर्ताको सहभागिता रहेको छ।
नयाँ पार्टी गठन गर्ने उद्देश्यसमेत रहेको बताइएको देउवा समूहको राष्ट्रिय भेला सर्वोच्च अदालतको पछिल्लो प्रक्रियाका कारण तत्काल नयाँ दल गठनको गृहकार्य भने थाती राखिएको अवस्थामा भएको हो। थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन हुने भएपछि देउवा पक्षले नयाँ दल गठनको विषयलाई तत्काल अघि नबढाउने भएको हो।
सुकेधारामा जारी भेला भोलिसम्म चल्नेछ।



