काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड पहिरो, सडक कटान र बाढीको जोखिमका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ। त्यसैगरी कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर, मुस्ताङ र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड तथा गुल्मीको मदन भण्डारी सडकखण्डमा पनि पहिरो र सडक कटानका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। केही स्थानमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको भए पनि अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन्।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



