काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार उपचारका लागि विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्कने कार्यक्रम तय भएको छ। देउवा उपचारका लागि निर्वाचनअघि सिंगापुर गएका थिए भने त्यहाँबाट थप उपचारका लागि हङकङ पुगेका थिए। उनी हङकङबाटै स्वदेश फर्कन लागेका हुन्।
यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्कने जानकारी गराइसकेका थिए।
देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको बेला उनको स्वदेश फिर्तालाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ। यद्यपि उक्त भेलामा देउवा सहभागी हुने वा नहुने विषय भने अझै टुंगो लागेको छैन।



